बागमतीमा एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चलन हुने

लोकप्रिय

हेटौँडा, पुस २३ गते।
बागमती प्रदेश सरकारले एक वडा एक कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ। चालु आर्थिक वर्षमा कृषिलाई प्राथमिकता दिएको प्रदेश सरकारले उक्त कार्यक्रम सञ्चालनमा ल्याउन कार्यविधि बनाएसँगै कार्यक्रम कार्यान्वयनमा आउने भएको हो।

बागमती प्रदेशको आइतबार यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले एक वडा एक कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको हो।

यसअघि आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेल कार्यक्रमका बारे प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पुगेर कार्यक्रमको बारेमा छलफल गर्नुभएको थियो।

मन्त्रिपरिषद् बैठकले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन दोस्रो संशोधन कार्यविधि २०८० स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो।

उहाँले बैठकले गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि २०८० समेत स्वीकृत गरेको बताउनुभयो।

उहाँका अनुसार एक विद्यालय एक नर्स कार्यक्रम छैटौँ वर्षमा चलिरहेको र गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवा सम्बन्धी चालु आर्थिक वर्षबाट सुरु गर्न लागेको हो। मन्त्रिपरिषद् बैठकले कारागार र प्रहरी कार्यालयको भौतिक संरचनाको संरचनात्मक सुधारको खर्च अख्तियार प्रदान गर्न अख्तियारी दिने निर्णय गरेको छ।

ताजा समाचार

Related Articles