चितवन,माघ १९ गते ।
मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू १९ क्रिकेट प्रतियोगिताको उपाधि बागमती प्रदेशले जितेको छ ।
उपाधि भिडन्तमा बागमतीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । भरतपुरको रामपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा गण्डकीले दिएको ८५ रनको लक्ष्य बागमतीले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
बागमतीको जितमा कप्तान सोनी पाख्रिनले २० रन बनाइन् । सोनीले २३ बलमा २ चौका प्रहार गरिन् । सेविका यादवले २० तथा एलिसा खड्काले १५ रन जोडे । गण्डकीकी सीमाना केसीले एक विकेट लिइन् ।
यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन जोडेको थियो । गण्डकीकी ज्योत्सनिका मरासिनीले ३७ र सीमाना केसीले २१ रन बनाए । बागमतीका विपिशा शाही र मनिषा उपाध्यायले एक–एक विकेट लिए ।
गण्डकीका अलराउण्डर सीमाना केसी प्लेयर अफ दि टुर्नामेन्ट भइन् । सुदूरपश्चिमकी सावित्री धामी उत्कृष्ट ब्याटर तथा गण्डकीकी निरु जिटी प्रतियोगिताकी उत्कृष्ट बलर बनिन् ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा सम्पन्न प्रतियोगितामा सात प्रदेशका टोली सहभागी थिए ।