बोट रेस प्रतियोगिताको उपाधि वाटर स्पोर्टस नेपाललाई

लोकप्रिय

पोखरा, चैत १२ गते ।
पोखराको बेगनास तालमा आज सम्पन्न भएको ड्रागन बोट रेस प्रतियोगितामा वाटर स्पोर्टस नेपालले उपाधि जितेको छ ।

बेगनास तालमा हिजो र आज गरी भएको खेलमा वाटर स्पोर्टस नेपालले अन्य १३ टिमलाई पछि पार्दै उपाधिसहित नगद २ लाख हात पार्न सफल भयो ।

५ सय मिटरको दुरी दुई चरणमा वाटर स्पोट्र्स नेपालको समूहले ३ मिनेट ५७ मिनेट १९० मिलिसेकेण्डमा पार गरी प्रथम हुन सफल भएको हो ।

त्यसैगरी नारा पोखराको समूहले ३ मिनेट ५७ः५९० सेकेण्डमा उक्त दुरी पार गर्दै दोस्रो हुँदा ४ मिनेट ६ः८५० सेकेण्डमा उक्त दुरी पार गरी नेपाली सेनाको टिम तेस्रो हुन सफल भएको छ । घरेलु टिम बेगनास डुङ्गा व्यवसायी समितिको टिम भने सान्त्वना भएको छ ।

प्रतियोगितामा २ सय मिटर तर्फको ड्रागन वोट रेसमा नारा पोखराको समूहले उपाधि जित्यो । नारा पोखराले निर्धारित दुरी १ मिनेट ४३ः४८० सेकेण्डमा पार गरेको थियो । दोस्रो भएको वाटर स्पोट्र्स नेपालले भने १ मिनेट ४४ः८१० सेकेण्डमा उक्त दुरी पार गरेको हो । तेस्रो भएको हर्पन फेवा मत्स्य सहकारी(जलारी समूह) ले तेस्रो स्थान हासिल गर्‍यो ।

त्यसै गरी प्रतियोगितामा २ सय मिटर डुङ्गा दौड महिला तर्फ बेगनासताल मत्स्य व्यवसाय समिति प्रथम भएको छ । उक्त दुरी २ चरणमा २ मिनेट १७ः३४ सेकेण्डमा पार गरी मत्स्य व्यवसाय समिति प्रथम भएको हो ।

प्रतियोगितामा बेगनास ताल डुङ्गा व्यवसायी समिति दोस्रो र जलारी दिदी बहिनी समूह तेस्रो भए ।

विजयी खेलाडीहरूलाई नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य मदन आचार्य, चाइनिज दूतावासका डिपुटि चिफ अफ मिसन वाङसिङ, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख नवीन पोखरेल, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराम तिम्सिना, पर्यटन विकास समिति पोखरा महानगरपालिकाका उपाध्यक्ष रवीन्द्रराज पौडेल, कार्यक्रम संयोजक एवं होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा पाँच सय मिटरमा दोस्रो हुनेले एक लाख ५० हजार र तेस्रो हुने टिमले ७५ हजार पुरस्कार प्राप्त गर्नु भयो । दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख दोस्रोलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिएको छ । महिला तर्फ भने विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गरे ।

बेगनास तालको पिप्ले टुँडादेखि मन्दरे पार्क सम्मको क्षेत्रमा प्रतियोगिता भएको हो ।

ताजा समाचार

Related Articles