उपमहानगरको बजेट दुई अर्ब ४३ करोड

लोकप्रिय

हेटौँडा, असार २ गते ।
हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट चालु आवको भन्दा घटेर आएको छ ।
हेटौँडा उपमहानगरपालिकाले आगामी आवको नीति तथा कार्यक्रम कार्यक्रम कार्यान्वयनका लागि दुई अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाको आइतबार यहाँ बसेको १५ औँ नगरसभामा नगरउपप्रमुख राजेश बानियाँले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको रुपमा घोषणा गर्दै आगामी आवको बजेट प्रस्तुत गर्नुभएको हो ।
आगामी आवको बजेट चालु आवको भन्दा १६.०७ प्रतिशत अर्थात ४६ करोड ७२ लाख २९ हजार रुपियाँले कम रहेको छ ।
कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसँगै सङ्घ र प्रदेशबाट प्राप्त हुने अनुदानमा घट्दो क्रमले बजेटको आकार चालु आवको भन्दा आगामी आवमा घटेको नगरउपप्रमुख बानियाँले बताउनुभयो ।
आगामी आवको अनुमानित बजेटको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार ७७०, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख ८६ हजार ७३०, प्रदेश सरकारको अनुदानबाट ११ करोड १७ लाख ३९ हजार र सङ्घीय सरकारबाट एक अर्ब १६ करोड ५३ लाख रुपियाँ रहेको छ ।
उहाँले आगामी आवमा पूर्वाधार विकासतर्फ सडक, ऊर्जा, जलस्रोत, पर्यटन, भवन तथा आवाससिँचाइलगायतका क्षेत्रका लागि ८८ करोड ८६ लाख ९९ हजार, आर्थिक विकास क्षेत्रका चालु र पुँजीगत योजनाका लागि सात करोड ५६ लाख १० हजार र सामाजिक विकासअन्तर्गत शिक्षातर्फ ९३ करोड १९ लाख ८२ हजार रुपियाँ विनियोजन गरेको बताउनुभयो ।
नगरउपप्रमुख बानियाँले आगामी आवको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनले नगरबासीको आधारभूत आवश्यकता परिपूर्ति गरी जीवनस्तरमा गुणात्मक सुधार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि नगरसभाले नगरप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको थियो ।

ताजा समाचार

Related Articles