पोखरा । २४ औँ संस्करणको आहा-रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को आउँदो माघ महिनाको तेस्रो साता देखि हुने भएको छ । मोफसलको चर्चित सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रङ्गशालामा उक्त प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको क्लबका अध्यक्ष केशवराज बरालले बताउनु भयो ।
१२ दिन चल्ने प्रतियोगितामा ए डिभिजनका क्लब, विभागीय टिम, आयोजक सहित केही विदेशी टिम गरी १२ टिम सहभागी गराउने तयारी भएको उहाँले जनाउनु भयो । ‘आत्मा साक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने उद्देश्य अनुरुप फुटबल मार्फत सहारा क्लब सामाजिक सेवा निरन्तर क्रियाशील रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताउनु भयो ।
क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमी सञ्चालन गरेको छ । हाल चौथो ब्याजको रुपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरू रहनु भएको छ ।
फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा आश्रित बालकहरूको उचित शिक्षादीक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै आएको अध्यक्ष बरालले बताउनु भयो । “खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौँ” भन्ने सन्देश मूलक उद्देश्यका साथ पोखरा रङ्गशालामा साढे दुई दशकदेखि बर्सेनि आयोजित यो प्रतियोगिता पोखराको पहिचान बनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ हो । गत वर्षको विजेता त्रिभुवन आर्मी फुटबल क्लब र उपविजेता थ्री स्टार क्लब ललितपुर हुन् । विजेताले १२ लाख र उपविजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका थिए । पोखरा महानगरपालिका संरक्षक छ भने अफिसियल बैङ्क लुम्बिनी विकास बैङ्क, अफिसियल एयरलाइन्स बुद्ध एयर रहेका छन् ।