महाभारतकालीन कृष्णथुम्की क्षेत्रको पुनर्निर्माण

लोकप्रिय

झापा- धार्मिक पर्यटकीयस्थल कृष्णथुम्कीमा सङ्घीय सरकारको सहयोगमा मन्दिर र गुम्बाको मर्मतसम्भार गरिएको छ । महाभारतकालीन पौराणिक कथनअनुसार भगवान् श्रीकृष्णले गाई चराएको किंवदन्ती जोडिएका सो स्थलमा गाईको खुरको छाप रहेको पवित्र शिला रहेको छभने मन्दिर वरपर श्रीकृष्ण र पाँच पाण्डवको प्रतीकका पमा पाथी आकारको छवटा मनमोहक डाँडा छन् ।

मेचीनगर नगरपालिका–१ स्थित कृष्णथुम्की मन्दिर र गुम्बाको मर्मतसम्भारमा रु ३० लाख ३९ हजार एक सय ८० खर्च भएको कृष्णथुम्की विकास समितिका अध्यक्ष हिम्मत क्षेत्रीले बताउनुभयो । यसमा सहरी विकास मन्त्रालयले रु २८ लाख पाँच हजार एक सय ९७ सहयोग गरेको र समितिको आन्तरिक स्रोतबाट रु दुई लाख ३४ हजार छ सय २६ जुटाइएको उहाँले जानकारी दिनुभयो ।

मन्दिर र गुम्बाको मर्मतसम्भारपछि कृष्णथुम्की धार्मिक क्षेत्रको मुहार नै फेरिएको छ । पहाडी अग्लो टाकुरामा रहेको मूल मन्दिर पुग्न रेलिङसहितको पक्की सिँढी निर्माण गरिएको छभने गुम्बा, साकेला थान र राधाकृष्णको मन्दिर रङरोगन गरेर आकर्षक बनाइएको छ ।

समितिका सचिव डिगेन्द्र थापाले मूल मन्दिरमा पित्तलको छानो लगाइएको जानकारी दिनुभयो । साकेलाथान र गुम्बाको प्राङ्गण ढलान गरिएको छ । मन्दिर र बगैँचा परिसरमा ब्लक र टायल्स बिछ्याएको छ । पूर्वीद्वार काँकडभिट्टाबाट १७ किलोमिटर उत्तर मेची र सिद्धी नदीको सङ्गमस्थलमा रहेको कृष्णथुम्की धार्मिक क्षेत्र हिन्दू, किरात र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । बर्सेनि हजारौँ बाह्य तथा आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् ।

यो क्षेत्र दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ । यहाँका छवटै थुम्कीबाट नेपाल र भारतको टाढासम्मको भूभाग अवलोकन गर्न सकिन्छ । द्वापर युगमा श्रीकृष्णले चराएको गाईको खुरको दर्शन र दृश्यावलोकन गर्न नेपाल र भारतका पर्यटक आउने गरेको समितिका अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

झापाको काँकडभिट्टाबाट इलामको सलकपुर र श्रीअन्तु जोड्ने सडक स्तरोन्नति गर्ने कार्य धमाधम भइरहेको र दक्षिणतिरबाट सडक कालोपत्र भइरहेको हुँदा आगामी दिनमा कृष्णथुम्कीसम्म पुग्नका लागि पर्यटकलाई सहज हुने क्षेत्रीले बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गलाई चार लेनको एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको र बाहुनडाँगीमा मदन भण्डारी राजमार्गको प्रस्थानबिन्दु रहेका कारण बाहुनडाँगी क्षेत्रका कृष्णथुम्कीलगायत ऐतिहासिक धार्मिक क्षेत्रको पर्यटन प्रवरद्धनमा सघाउ पुग्ने सम्भावना छ ।

ताजा समाचार

Related Articles