मकवानपुर- चितवन जिल्लामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि बागमती प्रदेश सरकारले १० करोड रुपैयाँ निकासा गराउने भएको छ ।
बिहीबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले अनुदान स्वरुप भरतपुर महानगरपालिकालाई उक्त रकम निकासा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षको बजेटमा नै विनियोजन गरिएको रकम महानगरपालिकालाई प्रदेश सरकारले उपलब्ध गराउन लागेको हो । प्रदेश सरकारले गत आर्थिक वर्षमा ५ करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई उपलब्ध गराएको थियो ।