रुपन्देही , पुस २१ गते । चिसो बढेपछि रुपन्देहीको तीन स्थानीय तह (पालिका) ले विद्यालयमा जाडो बिदा दिएका छन् । सोमबारदेखि मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकामा बिदा दिइएको हो ।
सम्मरीमाई र मर्चवारीले पुस २२ देखि माघ २ गतेसम्म बिदा दिएका छन् । त्यस्तै कोटहीमाई गाउँपालिकाले पुस २२ देखि पुस २९ गतेसम्म बिदा दिएको छ ।
बढ्दो शितलहरका कारण चिसो अत्यधिक बढेकाले प्रतिकुल मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै हिउँदे बिदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताउनुभयो ।
सम्पूर्ण विद्यालयहरू माघ ३ गतेदेखि सञ्चालन हुने कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिनुभयो ।
विद्यालयमा बिदा दिइए पनि विद्यालयको प्रशासनिक काम/काज खुल्ला राख्न भनिएको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवले बताउनुभयो ।