काठमाडौँ- काठमाडौँ विश्व विद्यालय स्कुल अफ आर्ट्सले यो बर्षदेखि स्नातक तहमा अंग्रेजी र आम सञ्चार तथा पत्रकारितामा पठनपाठन सुरु गर्ने भएको छ ।
काठमाडौँ विश्वविद्यालयले भाषा तथा आम सञ्चार विभाग अन्गर्गत यही शैक्षिक सत्रदेखि अंग्रेजी र आम सञ्चार तथा पत्रकारिता विषयहरु मुल बिषय राखेर पढाइ सुरु गर्न लागेको जानकारी आज काठमाडौँमा पत्रकार सम्मेलनमार्फत गराएको हो ।
चार बर्षे यो कार्यक्रम सेमेस्टर प्रणाली अन्तर्गत आठ सेमेस्टरमा पठनपाठन हुनेछ ।
नयाँ विषयको पढाइले राष्ट्रिय जिम्मेवारी वहन गर्न सक्ने तथा अन्तराष्ट्रियस्तरमासमेत प्रतिश्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने विश्वास प्राध्यापक डा अभी सुबेदीको छ ।
नयाँ विषयहरुको पढाइ जति आकर्षक हुन्छ त्यति नै चुनौतिपूर्ण हुने भएकोले पढाउने प्राध्यापकहरुले थप मेहनत गर्नुपर्ने डा सुवेदीको भनाइ थियो ।
कक्षा १२ वा सो सरह अध्ययन पूरा गरेका विद्यार्थीका लागि यो कार्यक्रम खुला भएको केयूले जानकारी दिएको छ ।