मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित प्रहरी चौकी चैनपुरको भवन निर्माण गर्न निःशुल्क जग्गा प्राप्त भएको छ ।
चैनपुरस्थित राक्सिराङ गाउँपालिका कार्यालयको भवनमा बस्दै आएको प्रहरी चौकीको भवन निर्माण गर्न राक्सिराङ गाउँपालिका वडा नं. ५ चैनपुरकी श्रीमती साँहिलीमाया मुक्तानले जग्गा दान गर्नुभएको हो ।
स्थानीय धन बहादुर मुक्तानका श्रीमती साँहिलीमायाले आफ्नो नाममा दर्ता श्रेष्ता कायम रहेको कि.नं.१०७५ को १–१४–३–२ रोपनी ( १ रोपनी १४ आना ३ दाम २ पैसा ) जग्गा प्रहरी चौकी चैनपुर मकवानपुरको नाममा रहने गरी दान स्वरुप निःशुल्क उपलब्ध गराउनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले प्रहरी चौकी चैनपुर, मकवानपुरको आफ्नै जग्गा तथा भवन नभई गाउँपालिकाको भवनमा बसी शान्ति सुरक्षा प्रदान गर्दै आईरहेको अवस्थामा दाताबाट जग्गा दान स्वरुप प्राप्तभएको जानकारी दिनुभयो ।
जग्गादाता मुक्तानलाई मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक खड्काले सम्मान गर्दै धन्यबाद व्यक्त गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयमा पुगेर धन बहादुर र श्रीमती साँहिलीमायाले जग्गा धनी पुर्जा मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कालाई हस्तान्तरण गर्नुभएको थियो ।