हेटौँडा ।
हेटौँडा उपमहानगरपालिका कार्यालयले नगर क्षेत्रबाट फोहोर उठाउन छाडेपछि हेटौँडाको बजारक्षेत्रमा फोहोर थुप्रन थालेको छ ।
हेटौँडा उपमहानगरपालिकाले बिहीबारबाट फोहोर संकलन गर्न छाडेको हो ।
हेटौँडा बजारको उद्योग वाणिज्य चोक, बुद्ध चोक, सिमा चौक, राप्ती रोड, कान्ति लोकपथलगायतका क्षेत्रमा अहिले फोहोर थुप्रिएको थियो ।
नगर क्षेत्रको आवासीय र बजार क्षेत्रबाट फोहोर संकलन र व्यवस्थापन गर्दै आएको उपमहानगरपालिका उच्च अदालत पाटन, हेटौँडा इजलाशले अन्तरिम आदेशपछि अदालतको आदेशको कार्यान्वयन भन्दै फोहोर नउठाउने निर्णयमा पुगेको थियो ।
हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानले अदालतको आदेश कार्यान्वयन गर्न हाललाई फोहोर संकलन कार्य स्थगन गरिएको जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १० स्थित राप्ती नदी तटमा फोहोर नफाल्न उच्च अदालत पाटन, हेटौँडा इजलाशले मंगलबार हेटौँडा उपमहानगरपालिकाको नाममा अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।
हेटौँडा उपमहानगरपालिका कार्यालयले एक सूचना जारी गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलाशबाट जारी निषेधाज्ञा सम्बन्धमा भन्दै सूचना जारी गरी अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि उपहानगरपालिकाले फोहोर संकलन र व्यवस्थापन गर्दै आएकोमा नियमित कार्य स्थगन गरेको थियो ।
हेटौँडा उपमहानगरपालिका कार्यालयले भुटनदेवी सामुदायिक वन क्षेत्रभित्र पर्ने राप्ती नदी तटलाई बजार क्षेत्रको फोहर डम्पिङ्ग साइटको रुपमा प्रयोग गर्दै आएको छ ।