सामाजिक न्याय र आर्थिक समृद्धिको अभियान सफल

लोकप्रिय

बागमती । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति आफ्नो पार्टीले प्रारम्भ गरेको अभियान सफल बन्दै गएको बताउनुभएको छ ।

मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा आजदेखि सुरु भएको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले सुशासनका, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा आफ्नो पार्टीले थालेको अभियान सफल बन्दै गएको बताउनुभयो ।

“हामीले देशैभरि राष्ट्रिय एकता निर्माणको अभियान थालेका छौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानले देशैभरि नयाँ आशाको किरण देखिएको छ ।” सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाइ गर्ने बताउनुहुँदै अध्यक्ष दाहालले यसमा सबैलाई लामबद्ध हुन आह्वान गर्नुभयो ।

नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापी रुपमा स्थापित गर्न खेलकुदको विकास महत्वपूर्ण भएको उल्लेख गर्नुहुँदै उहाँले स्थानीय सरकारले पनि यसमा ध्यान दिनुपर्छ भन्नुभयो । खेलका कारण देशको प्रतिष्ठा उच्च बनाउन सकिने उहाँको अभिमत थियो ।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरु प्रेमप्रसाद पुलामी, कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितकुमार घलान लगायत उपस्थित हुनुहुन्थ्यो ।

ताजा समाचार

Related Articles