हेटौँडा, फागुन १२ गते । मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइजले हात पारेको छ। बागमती गाउँपालिका –४ स्थित सहिद स्मृति रंगशालामा सोमबार भएको फाइनल खेलमा साविक विजेता मछिन्द्र क्लबलाई १–० गोलले हराउँदै चर्च ब्वाइजले उपाधि हात पारेको हो ।
चर्च ब्वाइजको उपाधि दिलाउन समीर तामाङले खेलको ४७ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच का तामाङ घोषित हुँदै १० हजार रुपिै प्राप्त गर्नुभयो ।
उपाधिसँगै चर्च ब्वाइजले १० लाख रुपियाँहित ट्रफी र उपविजेता मछिन्द्रले पाँच लाख रुपियाँ प्राप्त गरेको छ । चर्च ब्वाइजले पहिलो सहभागितामै गोल्डकपको उपाधि जितेको हो । मछिन्द्रले थ्री स्टारलाई र चर्च ब्वाइजले एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै चर्च ब्वाइजका सन्तोष खत्रीले एक लाख एक हजार १०१ रुपियाँ प्राप्त गर्नुभयो । यस्तै उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका टेकेन्द्र थापा, डिफेन्डर मछिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मछिन्द्रका रोशन राना मगर, फरवार्ड चर्च ब्वाइजका समीर तामाङ र प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित हुनुभयो । विधागत उत्कृष्ट सबैले जनही २५–२५ हजार रुपियाँ प्राप्त गरेका छन् । सो अवसरमा रेडियो झुरझुरेका स्टेसन म्यानेजर विवेक सिंतानलाई १५ राशिको पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको सभाध्यक्ष तथा बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फनिन्द्र कुमार तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, एन्फा केन्दीय सदस्य टीका लामालगायतको आतिथ्यता रहेको थियो ।