यातायात क्षेत्रका समस्या समाधान गर्न तयार छौँ

लोकप्रिय

हेटौँडा, फागुन १७ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकार यातायातसम्बन्धी नियम कानुन संशोधन गरी यातायात क्षेत्रका समस्या समाधान गर्न तयार रहेको बताउनुभएको छ । नारायणी यातायात व्यावसायी सङ्घको ३६औँ वार्षिक साधारणसभा तथा १६ औँ अधिवेशनको शनिबार यहाँ उद्घाटनपछि उहाँले दुर्घटना तथा बिमासम्बन्धी ऐनमा आवश्यक संशोधन गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभयो ।यातायातसम्बन्धी नियम कानुन संशोधन गरी समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।

राज्यले गर्नुपर्ने धेरै काम यातायात व्यावसायी गरिरहेको छ उहाँले भन्नुभयो, रोड परमिट, सवारी जाँचपास र नवीकरणलाई प्रविधिमैत्री बनाउने छलफल अगाडि बढाइएको छ ।
प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले बागमती प्रदेशको राजस्वमा यातायात क्षेत्रले योगदान महत्वपूर्ण रहेको भन्दै २२ लाख सवारी चालक अनुमति पत्र नागरिक एपमा राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो अनलाइनबाटै राजस्व तिर्ने, नवीकरण गर्ने र नामसारी गर्ने व्यवस्था मिलाउने तयारीमा छौँ ।
सङ्घका अध्यक्ष हीरालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सभा सदस्यद्वय इन्द्रबहादुर बानियाँ र प्रेमबहादुर पुलामी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह रानाभाटलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा सङ्घले हेटौँडामा मुख्यालय रहेको मानवसेवा आश्रमलाई हरेक वर्ष झै यो वर्ष पनि ५१ हजार रुपियाँ सहयोग गरेको छ ।

ताजा समाचार

Related Articles