हेटौँडा । भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानले सर्जक, स्रष्टालगायतलाई सम्मान गरेको छ ।
प्रतिष्ठानले विशेष साङ्गीतिक तथा पुरस्कार समर्पण समारोहको आयोजना गर्दै चारजनालाई राष्ट्रिय पुरस्कार र सातजनालाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको हो । हेटौँडा उपमहानगपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा यस वर्षको भीम विराग राष्ट्रिय साहित्य पुरस्कार काठमाडौँकी साहित्यकार माया ठकुरीलाई प्रदान गरिएको छ । राष्ट्रिय सङ्गीत पुरस्कार रुपन्देहीका गायक हेमन्त शर्मा, राष्ट्रिय कला पुरस्कार मकवानपुरका कलाकार भोलाराज सापकोटा र राष्ट्रिय पत्रकारिता पुरस्कार काठमाडौँका पत्रकार ठाकुर बेल्वासेलाई प्रदान गरिएको छ । चार वटै पुरस्कारको राशि जनही २५ हजार रुपियाँ रहेको छ ।
यस्तै, रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार पर्वतका लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई, तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ र शिला नारी पुरस्कार मकवानपुरकै महिला उद्यमी मेनका श्रेष्ठलाई प्रदान गरिएको छ ।
चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट मकवानपुरका बालसाहित्य अभियानकर्मी दीपक गौतम र भीम–मथुरा बाल प्रतिभा पुरस्कारबाट मकवानपुरकी रितिका छत्कुली सम्मानित हुनुभएको छ ।
यस्तै मङ्गलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार मकवानपुरकी स्वास्थ्यकर्मी निर्मला ब्लोनलाई र अजित सेन–कमलेश्वर गुप्ता भिन्न क्षमता पुरस्कार मकवानपुरका दृष्टिविहीन मेकानिक सुदर्शन ढकाललाई प्रदान गरिएको छ ।