नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सबै दललाई समेटेर संविधान संशोधन प्रक्रियालाई परिपक्व बनाएर अघि बढ्ने बताउनुभएको छ । महामन्त्री थापाले कसैको अधिकार नघटाई थप व्यवस्थित बनाउने गरी संविधान संशोधन गरिने बताउनुभयो ।
पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेस र डेमोक्रेटिक लयर्स एसोसिएसनले आज नेपालगन्जमा आयोजना गरेको ‘संविधान संशोधन: आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले निर्वाचन प्रणाली, सङ्घीयता र सुशासन सुदृढ हुने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
निर्वाचन अघिको गठबन्धन अप्रिय बनेको अनुभव सुनाउँदै उहाँले त्यसलाई पनि मध्यनजर गर्नुपर्ने बताउनुभयो । महामन्त्री थापाले उत्तेजनाको राजनीतिले मुलुकलाई फाइदा नहुने भन्दै संयमित बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । थापाले वि.सं. २०८०–९० को दशकलाई विकासको दशक बनाउनुपर्ने बताउनुभएको छ । उहाँले अबको दश बर्ष विकास, रोजगार र समुन्नतिका लागि काम गर्नुपर्ने बताउनुभयो ।