हेटौँडा, फागुन १९ गते ।
हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग गर्दै सुरु गरिएको साताव्यापी हस्ताक्षर सङ्कलन अभियान सम्पन्नभएको छ ।
गर्दै हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानले हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत नराखी सरकारी अस्पतालकै रूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै सुरु गरिएको अभियानमा चार हजार भन्दा बढी नागरिकले हस्ताक्षर गरेका छन् ।
अभियानका संयोजक विशालराज महतले हेटौँडा अस्पतालको आफ्नै पहिचान भएका कारण यसलाई जोगाउन र कुनै प्रतिष्ठान मातहत नराखी सरकारकै मातहत रहने गरी सञ्चालन गर्न दवाव दिने उद्देश्यले अभियान चलाइएको र अभियानमा चार हजारभन्दा बढी नागरिकले समर्थन गर्न हस्ताक्षर गरेको जानकारी दिनुभयो ।
उहाँले अस्पताल बचाउ अभियानमा सङ्कलनभएको हस्ताक्षर बागमती प्रदेशका मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालय पठाइने बताउनुभयो ।
आफूहरू विगत लामो समय देखिनै यो अभियानमा लागेको भन्दै उहाँले भन्नुभयो, हेटौँडा अस्पतालको ६७ वर्ष लामो इतिहासलाई जोगउँदै नागरिकको सहज रुपमा स्वास्थ्य सेवा पाउने संधिान प्रदत्त अधिकारलाई सुनिश्चित गर्नु आवश्यक छ ।
हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अलग स्थानमा अलग पहिचानसहितको आमजनताको पहुँचमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने, हेटौँडा अस्पतालको स्वामित्व प्रतिष्ठानमा जाने गरी निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ खारेज हुनुपर्नेलगायतका माग हुँदै आएको छ । साथै प्रतिष्ठानलाई पर्याप्त पूर्वाधारसहित कानुन संशोधन गरी सञ्चालन गर्नुपर्ने, दोहोरो स्वामित्वको अन्त्य गर्दै अस्पताल र प्रतिष्ठानलाई अलग राख्नुपर्ने र नागरिकको स्वास्थ्य सेवामा पहुँच सहज हुने वातावरण निर्माण गर्नुपर्ने हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानले जनाएको छ ।