नुवाकोट- बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटका विभिन्न बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा दुई वटा अस्पताल सिल लगाई बन्द गरिनुका साथै अखाद्य वस्तु जफत गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँको नेतृत्वमा गएको संयुक्त टोलीले विभिन्न ११ वटा अस्पताल तथा पसलहरूमा अनुगमन गरिएको उद्योग वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ ।
अनुगमनका क्रममा दुई वटा अस्पताल दर्ता नभई सञ्चालन भएको पाइएपछि तत्काल सिल लगाएर बन्द गरिएको अनुगमनका सहभागी उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार तादी ४ सातविसेस्थित दुप्चेश्वर नेपाल हस्पिटल प्रा।लि दर्ता नै नगरी सञ्चालन गरिएको पाइएपछि जरिवाना गरिनुका साथै बन्द गरिएको छ ।
सो अस्पताल सिल लगाउनुका साथै २० हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै पञ्चकन्या गापा २ सहरेटारमा रहेको माइकल डायनोष्टिक अस्पताल दर्ता नै नगरी सञ्चालन गरिएपछि बन्द गरिएको अधिकृत सापकोटाले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा किराना तथा खाद्यान्न पसलहरूमा अखाद्य वस्तु फेला परेपछि जफत गरी नष्ट गरिएको छ । अनुगमनका क्रममा पसलमा बिलबिजक अद्यावधिक नगरिएको र आवश्यक कागजात उपलब्ध गराउन नसकेको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले अस्पतालको कम्पनी दर्तासम्बन्धी कुनै कागजात फेला नपरेपछि तत्काल अस्पताल सिल गरेको हो ।
अस्पताल सञ्चालक अनुगमन टोली पुगेको जानकारी पाएपछि फरार भएका थिए ।
अधिकृत किशोर सापकोटाका अनुसार अन्य किराना पसल तथा सप्लायर्सलाई भने पहिलो पटक सचेत गराई सुधार गर्ने आवश्यक निर्देशन दिइएको छ । अनुगमनका क्रममा अधिकांश पसल तथा व्यवसायले न्यूनतम मापदण्डसमेत पुरा नगरेको पाइएको अनुगमन टोलीमा सहभागी उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष इन्द्रबहादुर पण्डितले जानकारी दिनुभयो । अनुगमनका क्रममा अधिकांश पसल मापदण्ड विपरीत रहेको पाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । पसल तथा व्यवसायमा मूल्य सूची राख्न र म्याद नाघेका सामानहरूको पहिचान गरेर छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा टोलीले फर्म दर्ता गर्न तथा नवीकरण गर्न, पसलको सरसफाइमा ध्यान दिन र सुरक्षित रूपमा सामग्री राख्न सुझाव दिएको छ ।