रौतहटका १० अस्पताल बन्द गर्न निर्देशन

लोकप्रिय

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएको विकृति एवं विसङ्गतिको समाधान गर्नका लागि नीजि अस्पतालको अनुगमनलाई निरन्तरता दिनुभएको छ ।

यसै क्रममा रौतहटको गरुडा नगरपालिकाका १० वटा निजी अस्पतालको स्थलगत अनुगमन गर्दा सबै अस्पतालहरू कानून विपरीत रहेको भन्दै बन्द गर्न निर्देशन दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरका अनुसार गरुडा नगरपालिका वडा नम्बर ४ का अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, श्री नेत्रज्योति आँखा हस्पिटल प्रालि, श्री गौर आँखा अस्पताल, श्री गरुडा अस्पताल प्रालि, रोमा हस्पिटल प्रालि, होप हस्पिटल प्रालि, सन सिटी हस्पिटल प्रालि र श्री सरस्वती हस्पिटल प्रालि तथा गरुडा नगरपालिका वडा नम्बर ५ स्थित आनन्द हस्पिटल प्रालिलाई मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिनुभएको हो ।

जनस्वास्थ्य नियमावली २०७७ अनुसार मापदण्ड पुरा नगरी सञ्चालनमा आएका ती अस्पताललाई बन्द गर्न अनुगमन टोलीले अनुगमन क्रममै पत्र दिएको छ । अनुगमन क्रममा बन्द गर्न निर्देशन दिइएको आनन्द हस्पिटल प्रालिले स्थानीय तहबाट चालू आर्थिक वर्षमै २५ शय्याको अस्पताल सेवा सञ्चालन स्वीकृति लिएको छ ।

कानुनअनुसार स्थानीय तहले १५ शय्यासम्मको अस्पताल सेवा सञ्चालन स्वीकृति दिन सक्ने प्रावधान रहेको छ भने २५ शय्यादेखि दुई सयसम्म प्रदेश सरकारले र दुई सय शय्याभन्दा माथि सङ्घ सरकारले सेवा सञ्चालन स्वीकृति दिने व्यवस्था छ । स्थानीय तहलाई विशिष्टीकृत अस्पतालको सेवा सञ्चालन अनुमति दिने अधिकार रहेको छैन ।

ताजा समाचार

Related Articles