काठमाडौँ, फागुन २६ गते ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमवारबाट ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले उद्घाटन गर्नुभयो । उहाँले विभिन्न प्रदेशमा भएको प्रदर्शनीको प्रशंसा गर्दै किसानले माटाको पहिचान गरेर अन्न उत्पादन गरेझँै कलाकारले पनि आफ्नो माटोलाई चिनेर कला र कलाकारिता गर्नुपर्ने बताउनुभयो । कुलपति नारदमणि हार्तम्छालीले सामाजिक रूपान्तरण ललितकलाको अभियानको मूल भावमा रही आयोजना गरिएको प्रदर्शनीले प्रदेशको ललितकलाका उत्थानमा थप सहयोग गर्ने बताउनुभयो । उहाँले कला र कलाकारको धनी बागमती प्रदेशमा ललितकलाको खोज तथा अनुसन्धानका थप काम गर्नुपर्ने धारणा राख्नुभयो । प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रदेश समन्वय समितिका संयोजक लालकाजी लामाले कलाका क्षेत्रमा प्रादेशिक प्रदर्शनीले ललितकला क्षेत्रको पुनर्जागरण गराएको र जरैसम्म पुगेर रैथाने कला, सिपलाई थप उजागर गराउनुपर्ने बताउनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रतिष्ठानको रणनीतिक योजनामुताबिक प्रादेशिक ललितकला प्रदर्शनी गरिएको र यसले हाम्रा मौलिक कला, शैली, शिल्प, ज्ञानलाई उत्थान तथा प्रवर्धन गर्न सहयोग गर्ने बताउनुभयो । रैथाने सिप र कलाको पुस्तान्तरण हुनुपर्ने बताउँदै उहाँले कला र कलाकारको रचनात्मक सिर्जनशील विकासमा जोड दिनुभयो । ललितकला क्याम्पस (भोटाहिटी) का प्रमुख डा.यामप्रसाद शर्माले यस प्रदर्शनीले उत्साह थपेको र कलाकारले विविध कलालाई विभिन्न रूपमा देखाएको बताउनुभयो ।
समारोहमा नेपाली ललितकला क्षेत्रमा योगदान दिनुभएका कलाकारहरू जुलुमलाल चित्रकार, भोला पौड्याल, शारदामान श्रेष्ठ, सुषमा राजभण्डारी, सुनिता राणा, धर्मबहादुर तामाङ, सरिता डङ्गोललगायतलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा प्रतिष्ठानबाट प्रकाशित विज्ञसमीक्षित अनुसन्धानमूलक शोधपत्रिका ‘ललितकला प्रज्ञा’को समेत विमोचन गरिएको थियो । प्रदर्शनीमा प्रदेशका २०७ कलाकारका २३९ कलाकृति राखिएका छन् । चैत्र १ गतेसम्म चल्ने प्रदर्शनीको क्युरेटिङ प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुन्दर सिंख्वालको संयोजनमा रजनी सिंख्वाल र सविना तामाङले गर्नुभएको हो । प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति के.के कर्माचार्य, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’, प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य, प्राज्ञ सभा सदस्य, अग्रज कलाकार, संस्कृतिकर्मी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, कलाकारलगायतको उपस्थिति रहेको थियो ।