मकवानपुर- हेटौँडा प्रादेशिक अस्पतालमा विशेषज्ञ मुटु रोग सेवा शुभारम्भ गरिएको छ ।
मुटु रोग सम्बन्धी रोगको उपचार जिल्लामा सहज रूपमा प्रदान गर्ने उद्देश्यले मङ्गलवारबाट कार्डियो आपिडी सञ्चालनमा ल्याइएको हो ।
अस्पतालको भूइँतलामा रहेको ओपिडी विभागको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सेवा शुभारम्भ गरिएको हो । अस्पतालले सेवा विस्तार गर्दै लगेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री लामाले प्रदेश मातहत रहेका सबै अस्पतालले बिस्तारै गति लिँदै गएको बताउनुभयो ।
हेटौँडामा नै क्याथ ल्याब समेत सञ्चालनमा ल्याएर मुटुको अप्रेसन सेवा बिस्तारको लागि प्रदेश सरकारले पहल गर्ने मुख्यमन्त्री लामाले प्रतिबद्धता जनाउनुभयो ।
प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सङ्घीयता लागू भएपछि बागमती प्रदेशको शिक्षा, स्वास्थ्य र भौतिक क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । बागमती प्रदेशको सबैभन्दा ठुलो प्रादेशिक अस्पतालको रूपमा रहेको हेटौँडा अस्पतालको स्तरोन्नति र आवश्यक मेडिकल उपकरणको व्यवस्थापन मन्त्रालयले गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । जनशक्तिको अभावले कतिपय आधारभूत अस्पताल सञ्चालनमा आउन नसकेको बताउँदै स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य मन्त्रालयले दूर चिकित्सा सेवा (टेलिमेडिसिन) उपचार पद्धति सञ्चालनको तयारी गरिरहेको समेत जानकारी गराउनुभयो । सडक दुर्घटनाका घाइतेको तत्काल उपचारका लागि हाइवे केन्द्रित ट्रमा सेन्टर सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको मन्त्री थापाले बताउनुभयो ।
मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठबाट हेटौँडामा दैनिक रूपमा मुटु जाँच सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले बताउनुभयो । क्याथ ल्याबको अभावले गर्दा अप्रेसन बाहेकका सबै मुटुको उपचार सेवा इसिजि, इको, टीएमटी, हल्टर, एविपी जस्ता परीक्षण हेटौडाबाटै हुने उहाँले बताउनुभयो ।
उपमहानगरपालिकासंगको साझेदारीमा रोटरी क्लब अफ हेटौँडाले अस्पताललाई एक वर्ष अघि ८० लाख रुपैयाँ मूल्य बराबरको मुटु परीक्षण उपकरण उपलब्ध गराएको थियो ।