क्याम्पसमा लगाएको ताला खोलियो

लोकप्रिय

हेटौँडा, फागुन २८ गते । हेटौँडा २ स्थित मकवानपुर बहुमखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा विद्यार्थी सङ्गठन दर्ताका विषयमा विरोध जनाउँदै निर्वाचनको पूर्व सन्ध्यामा तालाबन्दी गरेको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) क्याम्पस एकाइ समितिले क्याम्पसमा लगाएको ताला खोलेको छ ।

मकवानपुर बहुमुखी क्याम्पस प्रशासन र नेविसङ्घ क्याम्पस एकाइ समितिबिच दुई बुँदे सहमति भएसँगै क्याम्पसको स्ववियु निर्वाचन समितिको सचिवालयमा लगाएको ताला बुधबार नेविसङ्घ क्याम्पस एकाइ समितिले ताला खोलेको हो ।

नेविसङ्घ मकवानपुर बहुमुखी क्याम्पस समितिका सभापति बुद्ध ब्राह्मासहितका विद्यार्थीले यही फागुन २२ गते निर्वाचन समितिको सचिवालयमा तालाबन्दी गरेको थियो ।

नेविसङ्घ एकाइ सभापति बुद्ध ब्राह्माले स्ववियु निर्वाचन समितिको निर्णयप्रति असहमति जनाउँदै लगाएको तालाका बारेमा क्याम्पस प्रशासनसँग छलफल भएको र सौहार्दपूर्ण वातावरणमा निर्वाचनमा जाने सहमति भएपछि ताला खोलिएको जानकारी दिनुभयो ।

आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न, गराउन दुबै पक्षबिच सहमतिभएको नेविसङ्घ एकाइ सभापति बुद्ध ब्राह्मा र निमित्त क्याम्पस प्रमुख सङ्गम चौलागाईँले हस्ताक्षर गर्नुभएको सम्झौतामा उल्लेख छ ।

यसैबिच आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ । तीन वटा विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीसँगै एक जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी मनोनयन दर्ता गर्नेमा अनेरास्ववियुबाट प्रशिद्ध रेग्मी, नेविसङ्घबाट सागर घिमिरे, अखिल क्रान्तिकारीबाट छोइसाङ लामा र स्वतन्त्र रूपमा पुष्कर घिमिरे रहनुभएको छ । छोइसाङ लामा नेविसङ्घ र अखिल क्रान्तिकारीबिचको गठबन्धनबाट यसअघि स्ववियु सभापतिमा निर्वाचित हुनुभएको थियो ।

ताजा समाचार

Related Articles