हेटौँडा, फागुन २८ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले धर्म र संस्कृतिको संरक्षण र जगेर्नाबाट समृद्धि प्राप्त गर्न सकिने बताउनुभएको छ ।
मकवानपुरको थाहा नगरपालिकाको आयोजनामा बुधबारभएको ऐतिहासिक धार्मिक क्षेत्र भद्रतीर्थ पाण्डुकेश्वर त्रिवेणी शङ्खमूल नारद तीर्थको महत्व र मोक्षधामको रुपमा बिस्तारको आवश्यकतासम्बन्धी छलफल तथा प्रवचन कार्यक्रममा मुख्यमन्त्री लामाले यस्तो बताउनुभएको हो ।
उहाँले थाहा नगरपालिका क्षेत्रमा रहेको पवित्रस्थल त्रिवेणी शङ्खमूलमा मोक्षधामको विकास गर्ने गरी ल्याइएको योजनामा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
उहाँले ऐतिहासिक धार्मिक क्षेत्र भद्रतीर्थ पाण्डुकेश्वर त्रिवेणी शङ्खमूललाई धार्मिक पर्यटनको विकासमा तीनै तहको सरकारबिच समन्वय र सहकार्य आवश्यकभएकोमा जोड दिनुभयो ।
कार्यक्रममा काठमाडौँस्थित शान्तिधामका मठाधीश १००८ स्वामी चतुर्भुजाचार्य चूडामणि महाराजले त्रिवेणी शङ्खमूलको पौराणिक महत्वमा बारेमा चर्चा गर्दै धार्मिक ग्रन्थहरुको आधारमा थाहा नगरको शङ्खमूल विश्वकै पवित्र भूमि भएको बताउनुभयो ।
थाहाका नगर प्रमुख विष्णुबहादुर विष्टले शङ्खमूललाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न बृहत्तर शङ्खमूल विकास समिति गठन गरिने बताउनुभयो ।
थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले त्रिवेणी शङ्खमूललाई धार्मिक पर्यटनका रुपमा विकास गर्ने योजना नगरपालिकाले बनाएको सुनाउनुभयो ।
कार्यक्रममा थाहा नगरपालिकाका वडाध्यक्षहरु, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुहरु, धार्मिक संघसंस्स्थाका प्रमुख एवं प्रतिनीधिहरुलगायतका सहभागिता रहेको थियो ।
थाहा नगरपालिका वडा नं. ३ घट्टेचौरमा अवस्थित त्रिवेणी शङ्खमूल धार्मिक दस्तावेजहरुको आधारमा विश्वका प्रमुख तीन शक्तिशाली शङ्खमूल मध्येमा एक हो ।