प्रदेशको राजस्व स्रोत सुधार समितिले थाल्यो काम

लोकप्रिय

हेटौँडा, फागुन २८ गते ।
बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशको राजस्वमा सुधार र दायरा बढाउन समिति नै गठन गरेर काम थालेको छ ।
मन्त्रालयले बागमती प्रदेशको राजस्वमा वृद्धि एवं सुधार गर्न गठित बागमती प्रदेश राजस्व सुधार अध्ययन समितिले हेटौँडामा सरोकारवालाहरुसँग छलफल गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समितिले गत तीन वर्षको राजस्व सुधार कार्ययोजना तर्जुमा, राजस्व परिचालनमा सुधारका क्षेत्र पहिचान र राजस्व प्रक्षेपणका क्षेत्रको अध्ययन गर्नेछ ।
प्रदेश सरकारले नेपाल सरकारका पूर्वसहसचिव किशोरजङ्ग कार्कीको संयोजकत्वमा पूर्वसहसचिव लेखनाथ पंगेनी, अर्थविज्ञ डा. सञ्जीव हुमागार्इँ, बैङ्कर गङ्गा सापकोटा र अनुसन्धानकर्ता प्रेम दवाडी सदस्य रहनुभएको समिति गठन गरेको छ ।
समितिका सदस्य दवाडीले समितिलाई प्रदेशको राजस्व परिचालन क्षमता एवं प्रभावकारिता अभिवृद्धिलगायतका लागि तहगत सहकार्यको उपयुक्त संयन्त्र सिफारिस गर्ने गरी जिम्मेवारी दिइएको बताउनुभयो ।
छलफलमा समितिका संयोजक कार्कीले मनोरञ्जनात्मक र डिजिटल प्लेटफर्मलाई पनि प्रदेशको राजस्वको क्षेत्रमा समावेश गर्नुपर्ने भन्दै विज्ञापन तथा मनोरञ्जन कर सङ्कलनमा स्थानीय तहलाई प्रभावकारी बनाउने गरी सुझाव प्रतिवेदनमा समेटिने बताउनुभयो ।
प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गङ्गादत्त नेपालले राजस्व सुधार समितिको अध्ययन प्रतिवेदनलाई आगामी आर्थिक वर्षको बजेटमा कार्यान्वयन गर्ने बताउनुभयो ।
आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले प्रदेशको राजस्व सङ्कलनमा सङ्कुचन र खर्च बढ्दै गएकोले उक्त समस्या समाधान गर्न अध्ययन समिति गठन गरी काम थालिएको बताउनुभयो ।
प्रदेशका प्रमुख सचिव माहादेव पन्थले विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन राजस्व सङ्कलनको दायरा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

ताजा समाचार

Related Articles