धुलिखेल, फागुन २८ गते ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा जिल्ला काभ्रे, धुलिखेलमा एक दिवसीय “प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी” सम्पन्न भएको छ ।
गोष्ठीमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरज चन्द्र लामिछानेले बागमती प्रदेश प्रहरी कार्यालयको भौतिक संरचना निर्माण र अपराध अनुसन्धानमा आवश्यक स्रोत र साधनको व्यवस्थापनमा बागमती प्रदेश सरकारले नियमित रुपमा सहयोग उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, उच्च अदालत पाटन ललितपुरका न्यायाधीश श्याम कुमार भट्टराइ, मुख्य न्यायाधिवक्ता सुकदेव काफ्ले, काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहन्यायाधिवक्ता सूर्य राज दाहाल, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्ण हरि शर्मा, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, प्रहरी नायव महानिरीक्षक अरूण पौडेललगायतकको उपस्थिती रहेको थियो।
गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रदेश प्रहरी कार्यालय बनेपा, जिल्ला प्रहरी कार्यालयहरूको तर्फबाट प्रस्तुत गरिएको प्रस्तुतिकरण पश्चात् नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतले प्रस्तुतिकरणमा उठेका जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।