हेटौँडा, फागुन २८ गते ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले रंगहरुको पर्व फागू पूर्णिमा पर्व (होली) मयौदित रुपमा मनाउन आग्रह गरेको छ ।
ऐतिहासिक महत्व बोकेको यस सांस्कृतिक पर्वले सामाजिक सद्भाव र भाइचारा कायम गर्दै न्यायपूर्ण र समतामूलक समाज निर्माणमा प्रेरक भूमिका निर्वाह गर्दै आएको भन्दै मकवानपुर प्रशासनले फागुन २९ गते बिहीबारको दिन परेको फागू पूर्णिमा पर्व मर्यादित रुपमा मनाउन आग्रह गरेको हो ।
सांस्कृतिक एकताको पर्व होली पर्व मनाउने नाममा हालैका वर्षहरुमा अनावश्यक तडकभडक सहित विभिन्न खर्चिला र भड्किला कार्यक्रमहरु समेत हुने गरेको पाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेलले होली पर्वको अवसरमा शान्ति सुव्यवस्थामा प्रतिकूल असर पर्ने गरी सार्वजनिक स्थलहरुमा होहल्ला गर्ने, झैझगडा गर्ने, कसैको इच्छा विपरित जबरजस्ती रंग दल्ने, पानीको बेलुन÷लोला हान्ने, पानी छ्याप्ने र पानीको फोहोरा हान्ने कार्य नगर्न आग्रह गर्नुभयो । उहाँले कसैलाई इच्छाविपरित मादक पदार्थ वा नसालु पदार्थ सेवन गराउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, व्यक्तिको पारिवारिक तथा सामाजिक जनजीवन र सामाजिक मर्यादामा खलल पार्ने जस्ता अमर्यादित गतिविधी नगर्न नगराउन भन्नुभएको छ ।
उहाँले एक सूचना प्रकाशित गर्दै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार, खुशी एवं स्वतन्त्रता सङ्कुचित नहुने गरी यो सांस्कृतिक पर्व होलीलाई अनुशासित, मर्यादित र व्यवस्थित तवरले मनाउनुहुन अनुरोध गर्नुभएको हो ।
उहाँले कोही कसैले यस्ता अमर्यादित, उच्छृङ्खल, अवाञ्छित र गैरकानूनी क्रियाकलाप गरेमा प्रचलित कानून गरिने बताउनुभयो ।
मकवानपुरको शिक्षण संस्थामा बुधबार नै सामुहिक रुपमा फागु पूर्णिमा मनाइएको छ ।