हेटौँडा, फागुन २९ गते ।
मकवानपुरमा रंगहरुको पर्व फागू पूर्णिमा पर्व (होली) मनाइएको छ । बिहीबार बिहानैबाट पारिवारका सदस्य, साथीभाई मिलेर एकअर्कालाई रङ्ग लगाउँृदै र शुभकामना आदान प्रदान गर्दै होली मनाइएको हो । कतिपय संस्था र समुहहरुले फागू पूर्णिमा पर्व सामुहिक रुपमा मनाएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल प्रहरीलगायत समुह, विभिन्न संस्थाहरुलगायतले होली पर्व सामुहिक रुपमा मनाएका हुन् ।
मकवानपुर उद्योग वाणिज्य संघले होली मिलन कार्यक्रम गरेको छ । संघका कार्यवाहक अध्यक्ष दीपक उप्रेतीले उद्योगी÷व्यवसायीले आफ्नो वर्षभरीको व्यस्ततालाई भुलेर होली पर्व मनाउन जम्मा भएको, सत्यको जितको पर्वको रुपमा होली रहेको बताउनु हुँदै असल परम्परा र संस्कृतिहरुलाई जोगाइ राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संघका पूर्वअध्यक्षहरु उत्तमशर्मा ढकाल, अरुणराज सुमार्गी र भूवनलाल श्रेष्ठ, संघका सल्लाहकारहरु आनन्दराम पराजुली, नरेन्द्र भण्डारी, ईन्द्र नेपाल, निर्माण व्यवसायी संघका उपाध्यक्ष भवनाथ अधिकारी, बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुलगायतले एकआफसमा रङ्ग लगाएर शुभकामना आदान प्रदान गर्नुभएको थियो ।
यस्तै, पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संस्थाहरुले पनि होलीका अवसरमा कार्यक्रम आयोजना गरेका थिए । होलीका अवसरमा कतिपय मकवानपुरको कतिपय स्थानमा सांगीतिक कार्यक्रमसमेत भएको छ ।