हेटौँडा, फागुन २९ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतीक भएको बताउनुभएको छ । रङ्गहरुको विशेष पर्व होलीको अवसरमा बिहीबार शुभकामना सन्दशे जारी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
होलीलाई आपसी सद्भाव, मेलमिलाप, भाइचारा, एकता, प्रेम र आत्मीय सम्बन्धको प्रतीकको रुपमा लिइने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजयको रूपमा यो पर्वको महत्व रहेको छ । खराब प्रवृत्तिलाई दहन अर्थात नाश गरेर हामीले सत्यता र न्यायलाई स्थापित गर्ने सन्देश यो पर्वले बोक्दछ ।
‘होलीको अवसरमा सबैमा सुख, शान्ति, उल्लास र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख देवकोटाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
चाडपर्वहरू विशिष्ट मौलिक पहिचानका निरन्तरता भएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभएको छ ‘नेपाल सभ्यता र संस्कृतिमा धनी छ, शिष्टता, सद्भाव, मौलिकता र सहिष्णुतालाई आत्मसात् गर्दै पर्व मनाउन सबैलाई प्रेरणा मिलोस् ।’
पर्वका नाममा हुने विकृतिको अन्त्यगरी सभ्य र समृद्ध समाज निर्माणमा यो पर्वले टेवा पुगाउने अभिलाषाका साथ सबैमा फागु पूर्णिमा अर्थात् होलीको शुभकामना व्यक्त गर्दछु’ सन्देशमा भन्नुभएको छ ।