नाग ढुङ्गा मुग्लीन सडक खण्डको काम कछुवा गतिमा

लोकप्रिय

धादिङ –  नाग ढुंगा–नौबिसे, नौबिसे–मलेखु र मलेखु–मुग्लिङ गरी तीन प्याकेजमा सडक विस्तारको काम गरिँदै छ । नाग ढुंगा–नौबिसे पहिलो खण्डको १२ दशमलव दुई किलो मिटर सडकको भौतिक प्रगति ६८ र वित्तीय प्रगति ५४ प्रतिशत भएको छ । २०७९ मा निर्माण सुरु भएको यस खण्डको काम गत जेठ २५ गते सम्पन्न गर्नुपर्ने भए पनि निर्माण सम्पन्न हुन सकेन ।

पछिल्लोपटक थप गरिएको म्याद यही माघ २८ गते सकिएको हो । सडक क्षेत्रमा पर्ने रुख, बिजुलीका पोलहरू समयमा नै हटाउन नसक्दा निर्माण कार्यमा ढिलाइ भएको प्राविधिकहरुको भनाई छ ।

पुन दोस्रो पटक म्याद थप गरी आगामी श्रावण महिनासम्म सम्पन्न गर्नु पर्ने गरी म्याद थपिएको छ । थप गरिएको समयमा पनि काम सम्पन्न हुने छाँट अझै देखिन्न ।

यो सडक खण्डको ६ किलोमिटर सडकमा पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ ।

त्यस्तै,दोस्रो खण्ड नौबिसे–मलेखु खण्डको ४३ किलो मिटर सडकको भौतिक प्रगति जम्मा तिस प्रतिशत मात्रै भएको छ । सो सडक खण्डको २०७९ जेठ २६ गतेदेखि निर्माण कार्य सुरु भएको थियो ।

पृथ्वी राजमार्गको क्षेत्र पर्ने यस खण्डको वित्तीय प्रगति २४ प्रतिशत मात्रै छ । पृथ्वी राजमार्गको यो खण्डको १६ किलोमिटर सडक चालु आर्थिक वर्षमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य भए पनि हालसम्म सडकको चार किलो मिटर सडकमा पहिलो चरणको कालोपत्रे गरिएको नाग ढुङ्गा मुग्लीन सडक आयोजनाका प्रमुख केशव ओझाले बताउनु भएको छ ।

तेस्रो, खण्ड मलेखु–मुग्लिङ सडक खण्डको ३९ किलो मिटरको भौतिक प्रगति २३ र वित्तीय प्रगति १९ प्रतिशत भएको छ ।

चालु आर्थिक वर्षमा १६ दशमलव ५ किलोमिटर कालोपत्रे गर्ने र सो क्षेत्रमा पर्ने ६ ओटा मोटरेवल पुल मध्ये चार ओटा पुलहरू पनि सञ्चालनमा ल्याउने लक्ष्य राखेको भएपनी हालसम्म कालो पत्रे गर्ने काम जम्मा दुई किलो मिटर सकिएको छ ।

पुलहरूको काम पचास प्रतिशत सकिएको नाग ढुङ्गा मुग्लीन सडक आयोजना पश्चिम खण्डले जनाएको छ ।

राजधानी प्रवेश गर्ने र राजधानीलाई तराईका जिल्लासँग जोड्ने प्रमुख राजमार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको काम छिटो सम्पन्न नहुँदा यो राजमार्ग भएर आवत जावत गर्ने यात्रुहरूले निकै दुख पाएको गुनासो गरेका छन् ।

ताजा समाचार

Related Articles