काठमाडौँ, चैत १ गते । नेपाली टोली विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भइ आज स्वदेश फर्किएको छ।
भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु रङ्गशालामा मार्च ७ देखि १३ तारिखसम्म भएको प्रतियोगितामा प्रभा आङदेम्बेले नेपाललाई रजत दिलाउनुभएको थियो ।
लङजम्पसहित दुई सय र चार सय मिटर दौडमा सहभागिता जनाउनुभएको प्रभाले टी–४७ क्याटगोरीको महिला लङजम्पमा तीन दशमलव ९६ मिटर जम्प गर्दै रजत जित्नुभएको हो ।
नेपालबाट पुरुष चार सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गर्नुभएको थियो ।