मधेश प्रदेशका मुख्यमन्त्री सिंह ‘महामूर्ख’ उपाधिबाट सम्मानित

लोकप्रिय

जनकपुरधाम । होली पर्वको अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको महामूर्ख सम्मेलनमा यस वर्ष ‘महामूर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई प्रदान गरिएको छ ।

मिथिला नाट्य कला परिषद् आज जनकपुरधाममा आयोजना गरेको  महामूर्ख सम्मेलनमा मुख्यमन्त्री सिंहले मधेश प्रदेशको स्वास्थ्यका क्षेत्रमा सुधारका लागि चाल्नुभएको कदमको सराहना गर्दै ‘महामूर्ख’को उपाधिबाट सम्मानित गरिएको हो । उहाँलाई विशेष प्रकारको माला तथा टोपीसहित जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले सम्मान गर्नुभएको थियो ।

मुख्यमन्त्री सिंहले मधेश प्रदेशको स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि चाल्नुभएको कदमको सराहना गर्दै उक्त उपाधिले सम्मानित गरिएको मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झाले जानकारी दिनुभयो ।

यसैगरी प्रसिद्ध साहित्यकार, गीतकार सियाराम झा सरसलाई पटमूर्खको उपाधि प्रदान गरिएको । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलाई हराशंख, प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार, साहित्यकार तथा वरिष्ठ पत्रकार रामरिझन यादवलाई ढोरहाशंकरको उपाधिले सम्मानित गरिएको छ ।

महामूर्ख सम्मेलनमा मधेश प्रदेश सरकारका निमित्त स्वास्थ्य सचिव राजेश कुमार मिश्रलाई बालबोध, वीरगञ्ज महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलाई बज्रकीट, प्रसिद्ध चिकित्सक डा. रामविनय चौधरीलाई खवसुरताको उपाधिले सम्मानित गरिएको छ ।

यसै गरि चित्रकार सीतादेवी कर्णलाई मनपसारन, प्रसिद्ध पशु चिकित्सक एवं प्राध्यापक डा. पिंकी मण्डललाई मनतोरिया, महोत्तरीका प्रसिद्ध प्रधानाध्यापक कृष्णचन्द्र चौधरीलाई सोखानन्द, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई खेसारीलालको उपाधिले सम्मानित गरिएको छ ।

महामूर्ख सम्मेलनमा जनकपुर वार एशोसिएशनका अध्यक्ष विमल मिश्रलाई पवित्र पापी, नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्तालाई डपोरशंख र फिल्म फेष्टिवल गरेर विश्वका ६० देशका फिल्म प्रदर्शन गरेका कुमार भाष्करलाई तरघुस्काको उपाधिले सम्मानित गरिएको छ ।

महामूर्खको उपाधि ग्रहण गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सम्मानबाट थप हौसला मिलेको बताउनुभयो ।

ताजा समाचार

Related Articles