पाँचथर । पाँचथरको फिदिममा सम्पन्न पाँचौँ संस्करणको पाँचथर गोल्डकपको उपाधि नमोबुद्ध युथ फुटबल क्लब सप्तरीले हात पारेको छ ।
फिदिम मा.वि.को खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दै नमोबुद्ध युथ फुटबल क्लब सप्तरीले उपाधि जितेको हो ।
खेलको ७२औँ मिनेटमा नमोबुद्धका एलेक्सले लगाएको गोल नै निर्णायक बन्यो । विजेता नमोबुद्धले नगद ११ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उप विजेता मच्छिन्द्रले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
नमोबुद्धले क्वाटर फाइनलमा नेपाल पुलिस क्लब र सेमिफाइनलमा चर्च व्वाइज युनाइटेडलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । मच्छिन्द्रले क्वाटर फाइनलमा हिमालयन शेर्पा क्लब र सेमिफाइनलमा पथरी ११ फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर नमोबुद्धका जयरथ शेख, डिफेन्डर मच्छिन्द्रका देवेन्द्र तामाङ, मिड फिल्डर नमोबुद्धका विवेक राई , कोच नमोबुद्धका धन कुमार तामाङ, हाइ स्कोरर नमोबुद्धका एलेक्स र चर्च व्वाइजका राज भुसाल, सर्वोकृष्ट खेलाडी नमोबुद्धका दिपेश चाम्लिङ र उदयमान खेलाडी आयोजकका निरोज लिङदेन भए ।
उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँको दर र सर्वोकृष्ट खेलाडी र उदयमान खेलाडीलाई १५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।
फागुन २४ बाट सुरु भएको गोल्डकपमा नेपाल र भारतका ८ टिमको सहभागिता थियो ।