काठमाडौँ, चैत २ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
निगम सञ्चालक समितिको शनिबारको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपियाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर चार रुपियाँले घटाउने निर्णय गरेको हो । पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपियाँ ५० पैसा, एक सय ६२ रुपियाँ र एक सय ६३ रुपियाँ तथा डिजेल-मट्टितेल प्रतिलिटर एक सय ४८ रुपियाँ ५० पैसा, एक सय ५० रुपियाँ र एक सय ५१ रुपियाँ कायम हुने गरी समायोजन मूल्य गरिएको हो ।