विशिष्टहरुको शिष्ट वक्तव्य

लोकप्रिय

देश र जनताको सेवा गर्दागर्र्दा आफ्नो सम्पूर्ण जीवन समाप्त गरेर लखतरान भएका हामी विशिष्ट व्यक्तित्वहरुलाई सरकारले दिन खोजेका सेवा सुविधाको विरोध गर्नेहरुप्रति हामी खेद व्यक्त गर्दछौँ । हामी पूर्व विशिष्टहरुलाई कानून बनाएर सबैका लागि सधैँका लागि ढुक्क हुन खोजेको सरकारलाई हाम्रो पूर्ण समर्थन र सहयोग रहनेछ । हामीले हाम्रो कार्यकालमा गरेको योगदानका लागि पेन्सनस्वरूप दिन खोजिएको सुविधा सोह्रै आना उपयुक्त छ । कसैको बहकाउमा नलागी सरकारले यो निर्णय तुरुन्त गरोस् र लागु गरिहालोस् ।
२०४६ सालपछिका हामी विशिष्टहरुले देश र जनताको उन्नतिका लागि गरेका महान् कार्यहरु जगजाहेरै छन् । ऊ बेला कुनै दिन जनताको हितका लागि हामीले गिटी, अलकत्रा, पुल र जहाज जस्ता अखाद्य वस्तुहरु खानुपरेको थियो । कतिपटक हामीले खसिबोका झैँ किनबेच हुनुपरेको थियो । इतिहासमा लोग्ने जातका भएर पनि सुत्केरी हुने जस्तो विशिष्ट कार्यहरु सम्पन्न गर्नुपरेको थियो । हामी विशिष्टहरुले नै हो, त्यत्रो वर्ष ‘जनयुद्ध’ लडेर बाह्र–चौध हजार जनताका छोराछोरीलाई सहिद बनाएर मुलुकलाई संसारभरि परिचित गराएको । अनेक चमत्कार गरेर नयाँ नेपाल बनाएको । कसैले हाम्रो त्यो योगदानलाई भुल्न मिल्छ ?
देशको विकास गरेर नेपाललाई संसारकै एक नमूना देश बनाउने घोषणा कसले ग¥यो ? हामीले । ठूलाठूला हाइड्रोपावर निर्माण गरेर विदेशमा समेत बिजुली बेच्ने कुरा कसले ल्यायो ? हामीले । हिमाल, पहाड र तराईमा सडकको जालो बिछ्याएर मुलुकलाई विकासको चरमचुलीमा पुर्याउने सपना कसले बाँड्यो ? हामीले । झापादेखि कन्चनपुरसम्म दौडिने विद्युतीय रेलमा हुलेर नेपाली जनतालाई फिलिलि पारेर कसले उडायो ? देशका ठाउँठाउँमा बनेका सुरूड मार्गबाट नेपाली जनतालाई यताबाट उता उताबाट यता फुत्तफुत्त पु¥याउने घोषणापत्र कसले जारी ग¥यो ? नेपालका ठूलाठूला शहरहरुमा मेट्रोट्रेनको जालोले ढपक्कै ढाक्ने कुरा कसले उठायो ? पर्यटन, उद्योग, कलकारखाना, कृषि, जडिबुटी आदि क्षेत्रमा अभूतपूर्व विकास गरी नेपाललाई विश्वको नयाँ गन्तव्यस्थल बनाउने घोषणा कसले ग¥यो ? गर्दै गर्दै नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका निर्यात कसले ग¥यो ? दर्जनौँ ठाउँका सरकारी र सार्वजनिक जमीन हडपेर, बेचेर कमिशन कसले खायो ? राजनीति भनेको समाजसेवा हो भन्दै राजधानीमा बडाबडा बङ्गला, गाडी, सूनजवाहरात कसलेथुपा¥यो ? देशलाई भ्रष्टाचारमा विश्वप्रशिद्ध कसले गरायो ? हामीले, हामीले, हामीले ।
यतिविघ्न काम गरेर देशलाई रसातलका डिलमा पु¥याउने हामी महान् पुरूषहरुलाई हाम्रो योगदानको तुलनामा एकदमै थोरै सुविधा दिन खोज्दा पनि कोकोहोलो मच्चाउने मूर्खहरुप्रति हामी खेद व्यक्त गर्दछौँ ।
हामी विशिष्टहरुले आफ्नो र आफ्ना सातपुस्तासम्मका सन्ततिको बारेमा बेलैमा विचार गर्नुपर्छ । त्यसैले हामी भूतजस्ता भूतपूर्वहरुले गरेका अभूतपूर्व कर्म र योगदानहरुको सम्मान गर्दै वर्तमान अग्रगामी सरकारलाई सहयोग र समर्थन गर्न सबै भूतपूर्व र पछि भूतपूर्व हुने सम्भावित विशिष्टहरुलाई अनुरोध गर्दछौँ ।
-लक्ष्मण गाम्नागेको फेसबुक पेजबाट ।

ताजा समाचार

Related Articles