ललितपुर, चैत २ गते ।
समाजवादी मोर्चा नेपालले काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले नेपाली जनताका अधिकार कुण्ठित हुने अवस्था आएकोले यही चैत्र १५ गते जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी दिनुुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो सङ्घर्ष र बलिदानीमार्फत प्राप्त उपलब्धि र गणतन्त्रको रक्षा आवश्यक भएको बताउनुभयो । अध्यक्ष दाहालले समाजवादी मोर्चाको अन्तिम लक्ष्य समाजवादी गणतन्त्र भएको बताउँदै ग्रामीण अर्थतन्त्रको विकासमार्फत जनताको जीवनमा परिवर्तन ल्याउने लक्ष्य रहेको बताउनुभयो । उहाँले संविधान संशोधनको विषयमा छलफल आवश्यक रहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले समावेशी, समानुपातिक गणतन्त्र ल्याउन नेपाली जनताको धेरै ठूलो योगदान र परिश्रम रहेकोले यसको संरक्षण गर्नु हाम्रो दायित्व भएको बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी गणतन्त्र अहिलेको आवश्यकता रहेको भन्दै वंशका आधारमा शासन गर्नेहरूले नेपालको इज्जत, प्रतिष्ठा कायम राख्न नसक्ने बताउनुभयो । नेता नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले नेपालका बामपन्धीलाई एकै ठाउँमा ल्याउने प्रयास भईरहेकको बताउनुभयो ।