हेटौँडा, चैत २ गते ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरले सूर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाई गरेको छ ।
शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालयबाट कम्तिमा एकसय मिटरभित्रको घर पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण बन्द गर्न जिल्ला प्रशासन कार्यालय, मकवानपुरले भनेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेलले एक सूचना जारी गर्दै सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमित गर्ने ऐन, २०६८ को दफा ११ उपदफा (३) मा कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तिमा एकसय मिटरभित्रको घर पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने व्यवस्था रहेको बताउनुभएको छ ।
तोकिएको स्थानबाट कम्तिमा एक सय मिटरभित्रको क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्री वितरण बन्द गर्न भन्दै कार्यालयबाट अनुगमनको क्रममा उपरोक्त व्यवस्थाको उलङ्घन गरेको पाइएमा सम्बन्धित व्यक्ति वा पसललाई सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमित गर्ने ऐनको दफा १७ को उपदफा (५) (घ) बमोजिम कारवाही हुने उहाँले बताउनुभयो ।