पोखरा। गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८१/०८२ को ८ महिनामा २८ प्रतिशत मात्र बजेट खर्च गर्न सफल भएको छ ।
गण्डकी प्रदेशको प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको तथ्याङ्क अनुसार फागुन मसान्तसम्म गण्डकी प्रदेशमा करिब २८.१४ प्रतिशत मात्र बजेट खर्च भएको छ ।
गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ को लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट विनियोजन गरे पनि ८ महिनामा २८ प्रतिशतले ९ अर्ब २८ करोड २९ लाख ३४ हजार ४ सय ६७ रुपैयाँ खर्च गर्न सफल भएको कार्यालयले जनाएको छ । जसमध्य चालु तर्फ ३१.१२ प्रतिशत र पुँजीगत तर्फ भने २६.५७ प्रतिशत मात्र बजेट खर्च भएको गण्डकी प्रदेशको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख एवं प्रदेश लेखा नियन्त्रक सुरेश सुवेदीले बताउनु भयो । धेरै योजनाहरू हाल चालु अवस्थामा रहेको आर्थिक बर्ष सकिने अवस्थामा बजेट फर्स्यौट हुँदा अन्तिम समयमा बढी खर्च हुने गरेको उहाँले जनाउनु भयो ।
उक्त बजेटको चालु तर्फ ३९.९१ प्रतिशत अर्थात् १३ अर्ब १६ करोड ५ लाख ८२ हजार बजेट विनियोजन भएको छ भने त्यसै गरी पुँजीगत तर्फ ५९.१९ प्रतिशतले १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजारको बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारका ९ वटा मन्त्रालयहरू मध्य सबै भन्दा धेरै बजेट अर्थात् ३८.५१ प्रतिशतले बजेट भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा चालु वर्षको ८ महिनामा ३ अर्ब ५६ करोड ६७ लाख ६४ हजार ८ सय ७० रुपैयाँ खर्च गर्न सफल भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको प्रदेश सरकारले दुई ठुला दलको सक्ता गठबन्धनबाट बनेको सरकार भए पनि अपेक्षाकृत विकास गर्न नसकेको स्थानीयले गुनासो गर्नु भएको छ । प्रदेश सरकारले नयाँ बजेट बनाउने कार्य सुरु गरेको आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले बताउँदै आउनुभएको छ ।