गणतन्त्रको ७ वर्षमा धेरै काम भएका छन्

लोकप्रिय

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गणतन्त्र स्थापनाको ७ वर्षमा धेरै सकारात्मक कामहरू भएकाले यसको प्रचार प्रसारमा सार्वजनिक सेवा प्रसारणको दायित्व बढी भएको बताउनुभएको छ ।

मुख्यमन्त्री सिंहले ‘सार्वजनिक सेवा प्रसारण नेपाल, एन टिभी इटहरी तथा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबास बीचमा प्रदेश सरकारको सहकार्य’ विषयक एनटिभि इटहरीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा गणतन्त्रकै कारण गाउँ गाउँमा विकासको लहर आएको उल्लेख गर्दै प्रदेश तथा स्थानीय सरकारले गरेका सकारात्मक समाचारलाई महत्व नदिने तर थोरै नकारात्मक कुरालाई बढाइचढाइ गर्ने प्रवृत्तिका कारण जनतामा सिर्जित भ्रम चिर्न सार्वजनिक सेवा प्रसारण नेपालले सचेत भएर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले रेडियो नेपाल तथा नेपाल टेलिभिजनको ब्युरो कार्यालय जनकपुरधाममा स्थापनाका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

सार्वजनिक सेवा प्रसरण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले सार्वजनिक प्रसारणको मर्मअनुसार अहिले समाचार तथा कार्यक्रम जनता केन्द्रित बनाउने काम भइरहेको बताउनुभयो । उहाँले रेडियो नेपालको बर्दिबास, एनटिभि इटहरी तथा मधेश प्रदेश ब्युरो कार्यालय जनकपुरधाममा स्थापना गरेर प्रदेश सरकारका गतिविधि जनता समक्ष पुर्‍याउन पुलको रूपमा काम गर्न चाहेको बताउनुभयो ।

कार्यक्रममा सप्तरी जिल्ला हनुमान नगर कंकालनी नगरपालिकाका प्रमुख विरेन्द्र माझीले आफ्नो पालिकाले कृषि तथा भौतिक पूर्वाधारको क्षेत्रमा धेरै सकारात्मक कार्यहरू गरे पनि प्रचार प्रसार नभएकाले आफूहरू सार्वजनिक सेवा प्रसारणसँग सहकार्य गर्न तयार भएको बताउनुभयो ।

नेपाल टेलिभिजन इटहरीका कार्यालय प्रमुख वसन्त रुपाखेती तथा रेडियो नेपाल बर्दिबासका कार्यालय प्रमुख रामपुकार रामले आ–आफ्नो कार्यालयबारे जानकारी दिनुभएको थियो ।

त्यसअघि मुख्यमन्त्री सिंहले एन टिभी इटहरीको स्टुडियो, समाचार कक्ष, उत्पादन कक्ष सहितका पूर्वाधारहरूको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles