सुर्खेत । प्रदेश अस्पताल सुर्खेतको स्तरोन्नति सम्बन्धमा अध्ययन गर्न बनेको उच्च स्तरीय अध्ययन समितिले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई अन्तिम प्रतिवेदन बुझाएको छ ।
प्रा डा.भगवान् कोइरालाको नेतृत्वमा गठन गरिएको ६ सदस्यीय टोलीले चार महिना लगाएर आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर प्रतिवेदन बुझाएको हो । प्रदेश अस्पतालको संस्थागत तथा संरचनात्मक सुधारका विकल्पहरूका लागि प्रदेश सरकारले प्रा.डा. कोइरालाको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो ।
जनस्वास्थ्य नियमावली, २०७७ को अनुसूची–४ बमोजिमका विशिष्टीकृत स्वास्थ्य सेवा सुचारु गरी प्रदेशमा विद्यमान स्वास्थ्य सेवाको पहुँच र गुणस्तरलाई सुदृढ बनाउन प्रदेश अस्पताललाई प्रदेशको नेतृत्वदायी अस्पताल र स्वास्थ्य प्राज्ञिक केन्द्रको रूपमा विकास गर्नुपर्ने आवश्यकता देखिएको समितिका संयोजक प्रा.डा. कोइरालाले बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रदेशको समग्र स्वास्थ्य प्रणालीलाई राष्ट्रिय स्तरमा उकास्न स्वास्थ्य क्षेत्रका सुधारका कामका लागि प्रतिवेदनलाई आधार मानेर अगाडी बढ्ने जनाउनुभयो । उहाँले प्रदेश अस्पतालबाट हालसम्म सञ्चालन हुन नसकेका विशिष्टीकृत सेवा सञ्चालनसँगै अतिरिक्त आयका स्रोतहरूको पहिचान हुनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।
प्रतिवेदनमा मुख्यतः कर्णालीका स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिएका सेवालाई गुणस्तरीयता कायम गर्ने, विशिष्टीकृत स्वास्थ्य सेवाका लागि प्रदेश बाहिर जाने अवस्थालाई अन्त्य गर्ने, सेवा प्रवाह गर्दा लाग्ने खर्चमा मितव्ययिता कायम गर्न र आवश्यक स्वास्थ्य जनशक्ति उत्पादन प्रदेशभित्रै गर्न सक्ने गरी एक शैक्षिक कार्यक्रम र गुणस्तरीय सेवासँगै अनुसन्धानलाई एकीकृत रूपमा अगाडि बढाउन सक्ने पाँच वटा सुझाव दिइएको छ ।