पोखरामा फेवा महोत्सव हुने

लोकप्रिय

पोखरा । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा पर्यटकीय नगरी पोखरामा २० औँ संस्करणको फेवा नव वर्ष महोत्सव २०८२ चैत ३० गतेदेखि हुने भएको छ ।

उक्त महोत्सवमा आगन्तुक पर्यटकहरूको लागि होटल आवासमा २० प्रतिशतदेखि अन्य पर्यटनका विभिन्न क्रियाकलापमा छुट तथा प्याकेजका कार्यक्रम हुने सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइयो ।

होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको महोत्सवमा आगन्तुक पर्यटकहरूको लागि २० प्रतिशत छुट प्रदान गरिने घोषणा गरिएको छ ।

सङ्घले महोत्सवकै प्रचारका लागि हालै पूर्वी नेपालमा जाऊँ है पोखरा अभियान सम्पन्न गरेको र पश्चिम नेपालमा पनि यस्तो अभियान छिटै सञ्चालन गरिने कार्यक्रम संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलमा रात बिताउने पाहुनालाई प्रचलित दररेटमा २० प्रतिशत छुटको व्यवस्था हुने भएको उहाँले जनाउनुभयो ।

पर्यटनको राजधानी पोखरामा पोखरा भ्रमण वर्ष २०२५ चल्दै गर्दा हुन लागेको यो महोत्सवले फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य पनि लिएको छ । अङ्ग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउने र यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले फेवा महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

आयोजक सङ्घको सल्लाहकार परिषद्का सदस्य एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले सकारात्मक माहौलले पर्यटनलाई अगाडि बढाउन मद्दत पुग्ने दाबी गर्नु भयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले पोखरा आउने पर्यटकको तथ्याङ्क राख्न सम्बन्धित संस्थालाई सुझाव दिनुभयो । सङ्घमा आबद्ध ४ सय २५ होटल रहेको सङ्घले जनाएको छ ।

ताजा समाचार

Related Articles