प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न आग्रह

लोकप्रिय

हेटौँडा, चैत ४ गते ।
नेपाल समाजवादी पार्टीले प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न आग्रह गरेको छ ।
नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बिस्तारित बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध प्रतिगामीहरु सल्बलाएको भन्दै यस्तो आग्रह गरिएको हो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवको अध्यक्षता बसको बैठकले सरकार सार्वभौम संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने, सदनलाई छल्नेजस्ता कामगर्दै लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दै गएकोले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रको स्वाधीनता खतरामा पर्दै गएको निस्कर्ष निकालेको छ ।
बैठकपछि जारी विज्ञप्तिमा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति, मुस्लिम, दलित, थरुहट, पिछडा बर्ग लगायतको आन्दोलनको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली इतिहासको युगान्तकारी परिवर्तन भएको भन्दै युगान्तकारी परिवर्तनको जगमा राष्ट्रको स्थाधीनता र आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका लागि गणतन्त्रवादी शक्तिहरूले जसरी नेतृत्व गर्नुपर्ने थियो, त्यसरी नेतृत्व गर्न नसक्दा नेपाली जनतामा निराशा छाएको जनाइएको छ ।
साथै राज्य संचालकको स्वच्छाचारिताका कारण देशले अप्ठ्यारो अवस्थाको सामना गरिरहेको भन्दै विज्ञप्तिमा भनिएको छ, भ्रष्टाचार र कमिशनको कारण अर्थतन्त्र सङ्कटग्रस्त छ । जनजीविका कहाली लाग्दो अवस्थामा छ । सरकार विचौलिया दलालहरुको कब्जामा छ ।
बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध राजतन्त्र पुनस्र्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्वहरु सलबलाएको भन्दै यसको सशक्त प्रतिवाद गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न लाग्ने निर्णय गरेको छ ।
अहिलेको जटिल परिस्थितिमा समाजवादी मोर्चा, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको यही चैत १५ गते (शुक्रवार) का दिन काठमाडौँमा विरोध प्रर्दशन सहितको जनसभा आयोजना गरेको भन्दै उक्त जनसभा र विरोध प्रर्दशनमा पार्टी सशक्त रूपमा लाग्ने प्रतिबद्धतासहित बैठकले निर्णय गरेको छ ।
विज्ञप्तिमा प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दछौँ भनिएको छ ।

 

ताजा समाचार

Related Articles