काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले राजतन्त्र फर्किन सक्ने कुनै आधार नभएको निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको एमाले सचिवालय बैठकले मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउन हाल भइरहेका प्रयास स्वीकार्य नभएको भन्दै विशेष प्रस्ताव पारित गरेको नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले पार्टीको लुम्बिनी प्रदेश कमिटीमा थप गर्न पठाएको २८ जनाको नाम अनुमोदन पनि गरेको छ ।
नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठकले आज पारित गरेको प्रस्ताव
————— ————————-
प्रेस विज्ञप्ती
नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४६औं बैठक पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्यो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमरेडले विकसित समसामयिक राजनीतिक विषय तथा सरकारका कामका बारेमा जानकारी गराउनुभयो ।
बैठकमा मुलुकको समसामयिक परिस्थिति र विकसित राजनीतिक घटनाक्रमका बारेमा सचिवालयका सदस्यहरूले आ–आफ्नो राय प्रस्तुत गर्नुभएको थियो । बैठकले निम्न बमोजिम महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।
केही समय यता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी सङ्घर्षको परिणति हो । विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरीत राजतन्त्र पटक–पटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्यत् भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो । जनताको यस फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने कुरा स्पष्ट छ ।
लोकतन्त्र स्थापनापछिको छोटो समयमै नेपालले महत्वपूर्ण प्रगति हासिल गरेको छ । सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल र भूकम्प लगायत अनेकौं प्राकृतिक विपत्तिका बीचमा पनि भौतिक पूर्वाधार, सामाजिक क्षेत्र, जनताको जीवनस्तर, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि महत्वपूर्ण छन् । गर्नु पर्ने कामहरू धेरै बाँकी छन्, तर उपलब्धिलाई अस्वीकार गर्ने, एकोहोरो नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने एवं त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन सक्दैन ।
नेकपा (एमाले) आम जनता र विशेष गरेर युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको महत्वलाई गम्भीरतासाथ आत्मसात गर्न, निरङ्कुशकालमा अधिकार खोसिँदाको पीडालाई अनुभूत गर्न, साढे दुई शताब्दी हाराहारी लामो राजतन्त्रको एकछत्र शासनकालमा मुलुकको अवस्था कस्तो थियो भन्ने तुलनात्मक अध्ययन गर्न आह्वान गर्छ ।
हामी एक्काइसौं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैमा हास्यास्पद, हानीकारक र निरर्थक विषय हो भन्नेमा विशेष जोड दिन चाहन्छौं ।
हाम्रो पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दछ । संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र सुधारको दिशामा अघि बढ्न हामी प्रतिबद्ध छौं । संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउन पनि हामी सङ्कल्पित छौं । यस सन्दर्भमा लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिने सबैलाई धन्यवाद दिँदै नेपाली समाजमा प्रकट भएको लोकतान्त्रिक चेतनाको नेकपा (एमाले) हार्दिक सराहना गर्दछ ।
राजेन्द्र गौतम
प्रमुख
प्रचार तथा प्रकाशन विभाग