हेटौँडा, चैत ५ गते ।
मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ बुहमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।
क्याम्पस प्रशासनले असहज परिस्थिति निर्माणभएका कारण मंगलबारका लागि तयभएको निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
क्याम्पस प्रमुख राजन मिश्रले क्याम्पसमा मंगलबारका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सम्पूर्ण अघि बढाउने क्रममा बिहान ८ः०० बजेबाट मतदान प्रारम्भ गर्ने सबै तयारी भएपछि असहज अवस्था सिर्जनाभएको भन्दै निर्वाचनको कार्यक्रम स्थगित गरिएको बताउनुभयो ।
उहाँले निर्वाचन स्थगित गरिएको सूचना मंगलबार जारी गर्दै क्याम्पसमा उत्पन्न असहज परिस्थितिका कारण निर्वाचन गराउन असमर्थभएको र निर्वाचन समितिले राजिनामा दिएकोले अर्को सूचना नभएसम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको बताउनुभयो ।
यसैबिच स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने जिम्मेवारी पाएको निर्वाचन समितिका संयोजक र सदस्यहरुले समिबिाट राजीनामा दिनुभएको छ ।
स्ववियु निर्वाचन समितिले सम्पूर्ण तयारी गरेर मतदानमा सहभागी हुन आव्हान गरेकोमा निर्वाचन समितिले क्याम्पसमा असहज अवस्था उत्पन्नभएको भन्दै राजिनामा दिएको छ ।
निर्वाचन समितिका संयोजक कुमार नेगी तथा सदस्यद्वय हरिकृष्ण कार्की र मीना महर्जनले क्याम्पस प्रमुखसमक्ष दिनुभएको राजिनामा स्ववियु निर्वाचन अन्तर्गत सम्पूर्ण प्रक्रिया अगाडि क्रममा बिहान ८ः०० बजेबाट मतदान प्रारम्भ गर्ने गरी सबै गरिएको जनाइएको छ । साथै सबै तयारी भईसकेको अवस्थामा क्याम्पसमा उत्पन्न असहज परिस्थितिका कारण निर्वाचन गराउन असमर्थ भएकोले राजिनामा दिएका छौ, राजिनामा पत्रमा भनिएको छ ।
स्ववियुमा गठबन्धन गरेको नेविसंघ र अनेरास्ववियुले यसअघि सोमबार एक पक्षीय रुपमा निर्वाचन गरेमा बहिष्कारको चेतावनी दिएका थिए ।
यस्तै मंगलबार नै मतदाता नामावलीमा नाम थप गरेको र केही विद्यार्थीलाई छात्रवृत्तिको आश्वासन दिएर उम्मेदवार बनाएको भन्दै आपत्ति जनाउँदै आएको नेविसंघले आफ्ना माग संवोधन नगरी निर्वाचन गर्न लागेको भन्दै क्याम्पस मंगलबार तालाबन्दी गरेको थियो । तालाबन्दीपछि समस्या समाधान गर्न सर्वपक्षीय बैठक बसेपनि ठोस निर्णयमा पुग्न सकेन ।
निर्वाचन सुरु हुन नसकेपछि क्याम्पसमा तनावको अवस्था सिर्जना भएको थियो ।
अखिल क्रान्तिकारीसहितको समुहले स्ववियु निर्वाचन हुनुपर्ने माग गरेका छन् ।
प्रहरी सुरक्षासहित क्याम्पस बन्द गरिएकोमा विद्यार्थीहरु प्रहरीको घेरा तोड्दै गरेर क्याम्पसभित्र प्रवेश गरेका थिए ।
जिल्लाका चार वटा क्याम्पसमा मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो ।
त्रिभुवन विश्वविद्यालयका जिल्लामा रहेका आंगिक र सम्बन्धन प्राप्त गरी सात वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने तयभएकोमा दुई वटा क्याम्पसमा यसअघि नै स्ववियु नेतृत्व सर्वसम्मत् चयन भईसकेको छ ।
मकवानपुर बहमुखी क्याम्पस, हेटौँडा क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसमा निर्वाचन भएको हो ।
अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल समाजवादी विप्लबलगायतका विद्यार्थी संगठनहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
क्याम्पसमा विद्यार्थी संगठनहरुले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गरेका थिए ।