हेटौँडा, चैत ५ गते ।
बागमती प्रदेश सरकारको चालू आर्थिक वर्ष ०८१र८२ को विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे समीक्षा गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेशका मन्त्रीहरूसँग चालू आर्थिक वर्षको कार्य प्रगतिको समीक्षा गर्नुभएको हो ।
मुख्यमन्त्री लामाले प्रदेशमा देखिएको राजस्व संकलनको समस्या, चुनौती र व्यवस्थापन, कार्यसम्पादन सम्झौताउपर पछिल्लो आठ महिनाको प्रगति विवरण, राजधानी छोड्दा मन्त्रीहरूले मुख्यमन्त्री कार्यालयको पूर्वस्वीकृति लिने, मन्त्री हप्तामा चार दिन र सचिव पाँच दिन अनिवार्य हेटौँडा बस्ने, मन्त्री तथा कर्मचारीको आचरण, सचिवालयको नियन्त्रण, भ्रष्टाचार, अनियमिता रोक्नेलगायतका बारेमा समिक्षा कार्यक्रममा छलफल भएको थियो।
विभागीय मन्त्रालयहरूको प्रगति समीक्षासँगै कार्य सञ्चालनको सन्दर्भमा भइरहेको प्रगति र देखिएका समस्यहरूबारे समेत छलफल भएको छ । छलफलमा मुख्यमन्त्री लामाले मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौताअनुसारको प्रतिवेदन पेस गर्न निर्देशन दिनुभयो । साथै उहाँले हरेक महिना मन्त्रालयमा सचिवहरूसँग कार्यसम्पादन मूल्यांकन तयार गर्न र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गर्न निर्देशन दिनुभएको थियो ।
प्रदेश सरकारको पुँजीगत खर्च बढाउन र आर्थिक मितव्ययिता कायम गर्न पनि उहाँले मन्त्रीहरूलाई निर्देशन दिनुभयो ।
छलफलमा सहभागी मन्त्रीहरूले कर्मचारी व्यवस्थापन र समय सान्दर्भिक निर्णयको भूमिकामा सहयोग गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए।