काठमाडौँ। नेपाल मोबाइल ब्यवसायी महासंघले ब्यवसायीको समस्या समाधानको माग गर्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
महासंघले पुराना मोबाइल खरिदबिक्री तथा मर्मतका समयमा प्रहरी प्रसाशनबाट दुस्ख भोग्नु परेको तथा मोबाइल लक अनलकमासमेत बिनाकारण व्यवसायी फस्ने गरेको भन्दै यस्तो झन्झट मुक्त वातावरण बनाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो।
महासंघका केन्द्रीय उपाध्यक्ष तथा पुराना फोन खरिदबिक्री सम्बन्धी नीति निर्माण कार्यदलका संयोजक छतेन्द्र आचार्यका अनुसार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई महासंघको जिल्ला कार्यसमितिमार्फत ज्ञापनपत्र बुझाइएको हो।
यस्तै महासंघले भोलि सातै प्रदेशका मुख्यमन्त्रीलाई प्रदेश कार्यसमितिको अगुवाइमा ज्ञापनपत्र बुझाइने कार्यक्रम रहेको छ।
यसैगरी गृहमन्त्री र गृहसचिवलाईसमेत केही दिनमा नै महासंघ केन्द्रले बनाएको व्यसायी–सुरक्षा निकायबिचको सहकार्यसम्बन्धी नीतिको खाका बुझाउने कार्यक्रम छ। त्यसलाई व्यवहार कार्यान्वयनमा ल्याउँदा व्यवसायी र प्रहरीबिच सहकार्य गरी समस्या समाधानमा बाटो खुल्ने केन्द्रीय अध्यक्ष भरत भट्टराईले जानकारी दिनुभयो।