हेटौँडा, चैत ७ गते ।
मकवानपुरको उत्तरी क्षेत्रमा पाँच दिनका लागि विद्युत् आपूर्ति अनियमित हुनेभएको छ ।
धोर्सिङ सब–स्टेशनबाट वितरण भईरहेको क्षेत्रमा विद्युत आपूर्ति उक्त स्टेशनको क्षमता वृद्धिका क्रममा बिहीबारबाट पाँच दिनको लागि अनियमित (आउने जाने) हुने नेपाल विद्युत् प्राधिकरण पालुङ वितरण केन्द्रले जनाएको छ ।
जिल्लाको उत्तरी क्षेत्रका थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा बिहीबारबाट दैनिक ११ घण्टा विद्युत् आपूर्ति अनियमतिभएको हो ।
यस्तै भीमफेदी गाउँपालिकाको वडा नं. ८ र ९ तथा कैलाश गाउँपालिकाको १, २, ५ र ६ मा समेत विद्युत् आपूर्ति अनियमतिभएको छ ।
केन्द्रका प्राविधिक राजु पोखरेलले धोर्सिङ सब–स्टेशनर्मा रहेको हालको ट्रान्सफर्मरको क्षमता बढाउन लागेकोले बिहान ७ः०० बजेबाट साँझ ६ः०० बजेसम्म विद्युत् अनियमित हुने जानकारी दिनुभयो ।
हालको ५ एम.भि.ए.क्षमताको ट्रान्सफर्मरको क्षमता वृद्धि गरी २२.५ एम.भि.ए.क्षमताको ट्रान्फर्मर जडान गर्न लागेकोले धोर्सिङ सब स्टेशनबाट लाईन सटडाउन गर्नु पर्ने भएकाले लाईन बन्द हुने भएको छ । द्रुतमार्गलाई पनि विद्युत आपूर्ति गर्नुपर्ने र केन्द्रको क्षेत्रभित्र विद्युत माग बढेकोले क्षमता वृद्धि गर्न लागेको हो ।
विद्युत आपूर्ति अनियमित हुँद्या केन्द्रको क्षेत्रभित्रका १६ हजार ग्राहक प्रभावित हुने छन् ।
कैलाश गाउँपालिकामा आंशिक रुपमा तथा थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिकामा धोर्सिङ सब–स्टेशन मात्र विद्युत आपूर्ति हुँदै आएको छ ।
धोर्सिङ सब–स्टेशन बन्द हुने समयमा धादिङको नौबिसे, हेटौँडाको चौकिटोल र हात्तीसँुडे सब–स्टेशनबाट वैकल्पिक फिडरमार्फत विद्युत आपुर्तिको व्यवस्था गरेको भन्दै वैकल्पिक फिडर अत्यन्तै लामो भएका कारण भोल्टेज कम हुने र लाईन काट्ने जोड्ने समयमा नियमित विद्युत आपूर्तिमा समस्या आउने र विद्युत् अनियमित हुने उहाँले बताउनुभयो ।
प्राधिकरण पालुङ वितरण केन्द्रले उक्त समयमा विद्युत कम खपत हुने उपकरण मात्र प्रयोगमा ल्याउन आफ्ना ग्राहकलाई आग्रह गरेको छ ।