वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दललाई न्याय दिने निकाय जनता भएको बताउनुभएको छ ।
पर्साको विन्दवासिनीमा आज आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकमा व्याप्त विकृति, विसङ्गति रोक्नका लागि जनतालाई साथमा लिएर अघि बढ्न माओवादीले तराई मधेस अभियान सञ्चालन गरेको बताउनुभयो ।
उहाँले भ्रष्टाचारको मुहान रोक्न जनताको साथ र समर्थन आफूलाई चाहिएको बताउँदै मिटरब्याजी पीडितको समस्या समाधानका लागि माओवादी सक्रिय रहेको दाबी गर्नुभयो ।
अध्यक्ष प्रचण्डले धमिलो पानीमा माछा मार्ने कार्य गरेको खण्डमा राजा महाराजाहरू मुलुकमा बस्न नसक्ने अवस्थाको सृजना हुने चेतावनी दिँदै राजा महाराजाको नारा जुलुसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई कुनै फरक नपर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले मुलुकको समग्र विकासको मानव विकास सूचकाङ्कमा कर्णाली प्रदेश भन्दा पनि मधेस प्रदेश पछि परेको बताउँदै मधेसमा समग्र विकासको प्याकेज घोषणा गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, अग्नि सापकोटा, महासचिव देव गुरुङ, सह महासचिव एवं मधेस विभाग इन्चार्ज मातृका यादव, गिरिराजमणि पोख्रेल, उर्मिला अर्याल लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको छ ।