हेटौँडा, चैत ८ गते ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले मुलुकमा सुशासन, समृृद्धिको महाबहस हुनुपर्ने समयमा केही राजावादीहरुको रहरमा औचित्यहीन र सिद्धिएको राजतन्त्रको जबरजस्त बहस गर्न खोजिएको बताउँदै यसमा अल्मल्लिन नहुने बताउनुभएको छ ।
उहाँले मुलुकको आजको समस्या र आवश्यकता भन्दा बाहिरको बहस समयको बर्बादी मात्र भएको जिकिर गर्नुभयो ।
माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा मकवानपुरको विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “आज सतहमा देखापरेका भ्रष्टाचार, विकृति र विसंगति औंल्याएर एकथरीहरुले जसरी राजतन्त्रलाई विकल्पको रुपमा चित्रित गर्ने दुस्साहस गरिरहेका छन् त्यो भन्दा कुरुप चित्र राजतन्त्रमा ब्यहोरेका छौँ ।” नेता गौतमले अहिले मुलुकलाई अगाडि बढाउन सुशासन र सम्मृद्धिको बहस गर्नुपर्ने आवश्यक भएको औँल्याउँदै मुलुकमा आनन्दले डुल्न पाएका पूर्व राजाले अवान्छित हर्कत बढाए लाखौँ युवा सडकमा आएर प्रतिवाद गर्ने र त्यतिबेला देश छोड्नु पर्ने अवस्था आउने बताउनुभयो ।
नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्ष अमरबहादुर विकले हिजो जनयुद्धको अग्रमोर्चा सम्हालेको दलितहरुले विभेदको प्रतीकको रुपमा रहेर फालेको राजतन्त्रको कुकृत्यको बारेमा नयाँका पुस्तालाई सुसूचित गराउनु परे पूर्व राजाले अत्यन्त खराब परिस्थिति बेहोर्नुपर्ने चेतावनी दिनुभयो ।
माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य प्रेम पहादुर पुलामीले हज्जारौँको बलिदानको जगमा रगतसँग साटिएर आएको संघीय लोकतान्त्रिक गणतन्त्र केही राजा चाहने रैतीहरुको रहरमा फर्कन असम्भव रहेकोले अनावश्यक दुस्साहस नगर्न आग्रह गर्नुभयो ।
मोर्चाको केन्द्रीय उपमहासचिव गणेश विकले प्रशिक्षण दिनुभएको कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य ललित घलान, मोर्चाकी जिल्ला ईन्चार्ज कमला विक, जिल्ला अध्यक्ष जमिन दियालीलगायतले बोल्नुभएको थियो।