हेटौँडा, चैत ८ गते ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले चितवनको बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको छड्के अनुगमन गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम र चिकित्सा महाशाखा प्रमुख डा. खगेश्वर गेलालसहित अस्पताल पुग्नुभएका मन्त्री थापाको टोलीले शुक्रबार बकुलहर रत्ननगर अस्पतालको आकस्मिक अनुगमन गरेको हो ।
मन्त्री थापाले अस्पतालको अनुगमन गर्दै अस्पतालहरु प्रदान गर्दै आएको सेवा प्रवाह, उपलब्ध स्रोत–साधन र संरचनाको अवस्थाबारे जानकारी लिनुभएको मन्त्री थापाको सचिवालयले जनाएको छ ।
अनुगमनका क्रममा मन्त्री थापाले प्रदेश मातहतका अस्पतालले आफ्नो क्षमताभन्दा बढी बिरामीको चाप भएपनि सेवा दिइरहेको बताउनुभयो ।
उहाँले मन्त्रालयले अस्पतालका समस्या समाधानका लागि मार्गनिर्देश गर्ने, आवश्यक आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने भन्दै स्वास्थ्यकर्मीलाई एप्रोन र परिचयपत्र अनिवार्य रूपमा लगाउन निर्देशन दिनुभयो ।
अस्पताल व्यवस्थापनलाई बिरामीहरूको सुविधाका लागि प्रभावकारी योजना बनाउन सुझाउँदै उहाँले प्रदेश मातहतका अस्पतालहरुको सेवामा गुणस्तर कम हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले प्रदेश सरकार स्वास्थ्य सेवा सुदृढीकरणमा लागेको भन्दै आगामी दिनमा अस्पतालको सेवा प्रवाह थप गुणस्तरीय बनाउने बताउनुभयो ।
चिकित्सा महाशाखा प्रमुख डा. खगेश्वर गेलालचिकित्सा महाशाखा प्रमुख गेलाल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्य र मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले सेवा बिस्तार र सुधारका लागि प्रतिबद्धता जनाउनुभएको थियो ।