हेटौँडा, चैत ९ गते ।
बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले अनुसन्धान वृत्तिको लागि प्रस्ताव आव्हान गरेको छ । मन्त्रालयको चालु आर्थिक वर्ष २०८१÷०८२ को अनुसन्धान र विकासका कार्यक्रम कार्यान्वयनका लागि अनुसन्धान वृत्तिको लागि प्रस्ताव आव्हान गरेको हो ।
मन्त्रालयको ले स्वीकृत अनुसन्धान तथा विकास कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड, २०८१ (प्रथम संशोधन) अनुसार यस आवका लागि छनोट भएका ३० शोधपत्रका विषयसमेत सार्वजनिक गरेको छ ।
औद्योगिक नीति सुधार, लगानी अभिवृद्धि, उद्यमशीलता प्रवद्र्धन, हरित ऊर्जा तथा नवप्रवर्तनलाई लक्षित गर्दै अनुसन्धानका विषयहरु तय गरिएको छ ।
आवेदन प्राप्त भएपछि छनोट भएका शोधपत्र प्रस्तावको सूची प्रकाशित गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सुनिताकुमारी गजुरेलले सूची प्रकाशित भएको मितिबाट दुई महिनाभित्र विद्यार्थीहरूले शोधपत्र मन्त्रालयमा पेश गर्नुपर्ने भन्दै ती शोधपत्रहरूमध्ये उत्कृष्ट १० वटा लाई छनोट गरी प्रति शोधपत्र एक लाख रुपियाँ अनुसन्धान वृत्ति वापत प्रदान गरिने जानकारी दिनुभयो ।
उहाँले औद्योगिक नीति सुधार, लगानी प्रवद्र्धन, लघु तथा मझौला उद्यम नीति, नवप्रवर्तन, वित्तीय पहुँच, हरित ऊर्जा प्रवद्र्धन लगायतका क्षेत्रका अनुसन्धानलाई लक्षित गर्दै यो कार्यक्रम ल्याइएको भन्दै यसबाट प्रदेशको औद्योगिक विकास र आर्थिक वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
शोधपत्रका लागि बागमती प्रदेशको औद्योगिक उद्यमी ऐनको प्रभावकारिताको मूल्याङ्कन, बागमती प्रदेशमा साना तथा मझौला उद्यम नीति सुधारः चुनौतीहरू र सम्भावना, बागमती प्रदेशको व्यापार नीतिको आवश्यकताः प्रदेश औद्योगिक वृद्धिमा प्रभाव, बागमती प्रदेशमा औद्योगिक ग्रामको भूमिकाः उत्पादन उद्योग प्रवद्र्धनमा प्रभाव र प्रदेश स्वायत्तताले बागमती प्रदेशको औद्योगिक नीतिमा पारेको प्रभाव विषय राखिएको छ ।
यस्तै, प्रदेशका घरेलु तथा साना उद्योगहरूको वृद्धि र प्रतिस्पर्धात्मकता र प्रदेशमा औद्योगिक पूर्वाधार विकास र यसको प्रभाव तथा बागमती प्रदेशको औद्योगिक नीतिको मूल्याङ्कनः राष्ट्रिय नीति र व्यवहारिक कार्यान्वयनबीचको अन्तर विषय राखिएको छ ।
प्रदेश सरकारले गर्ने अनुसन्धान वृत्तिले प्रदेशको औद्योगिक नीति सुधार, लगानी आकर्षण, उत्पादनशीलता वृद्धि तथा नवप्रवर्तनलाई प्रवद्र्धनसँगै प्रदेशको समग्र आर्थिक तथा औद्योगिक विकासमा योगदान उहाँको भनाई छ ।
यसैगरी शोधपत्रको विषय प्रदेशमा साना तथा मझौला उद्यमका लागि वित्तीय पहुँच, प्रदेशको औद्योगिक वृद्धिमा नवप्रवर्तन र स्टार्टअपहरूको भूमिका, प्रदेशमा औद्योगिक स्थापनाका लागि प्रशासनिक तथा नियामकीय अवरोधहरू, बागमती प्रदेशमा लगानी बोर्डको अनुपस्थितिले औद्योगिक लगानीमा पारेको प्रभाव, प्रदेशमा औद्योगिक विकासका लागि नवीकरणीय ऊर्जा प्रवद्र्धन र प्रदेशमा कृषि आधारित उद्योगहरूको सम्भावनाः नीति र चुनौतीहरू रहेका छन् ।
त्यस्तै प्रदेशमा लगानी प्रवद्र्धनका लागि अपनाइएका नीतिहरूको समीक्षा, प्रदेशमा औद्योगीकरणको वर्तमान अवस्था र भविष्यको सम्भाव्यता, स्थानीय तह र प्रदेश सरकारबीचको सहकार्यः औद्योगिक विकासमा प्रभाव, प्रदेशमा स्वरोजगार प्रवद्र्धनका सरकारी प्रयासहरूको प्रभाव, प्रदेशमा सार्वजनिक–निजी साझेदारीको भूमिका र प्रभावकारिता, प्रदेशको औद्योगिक क्षेत्रमा महिला उद्यमशीलताको अवस्था र चुनौतीहरू र प्रदेशमा खुद्रा व्यापारको विकास र चुनौतीहरू शोधपत्रको विषय राखिएको छ ।
साथै प्रदेशमा स्थानीय उत्पादन प्रवद्र्धनका लागि प्रदेश सरकारले अपनाएको नीति, प्रदेशमा वस्तु तथा सेवा कारोबारको प्रवृत्ति र समस्या, प्रदेशमा डिजिटल कारोबार र यसको व्यापार प्रणालीमा प्रभाव, प्रदेशमा व्यापार मेलाहरूको आयोजना र स्थानीय उत्पादन प्रवद्र्धनमा प्रभाव, बागमती प्रदेशमा बजारमा उपभोक्ता ठगीका घटनाहरूः कारण र नियन्त्रण उपायहरू र प्रदेशमा अनलाइन खरिदमा उपभोक्ताको अधिकार शोधपत्रका विषयहरू रहेका छन् ।